ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ जेठ

संसदबाट नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमि सहितको नक्सा पारित हुँदैगर्दा यसैको समर्थनमा नयाँ गीत आएको छ । ‘नझुकून् हाम्रा शीरहरू….’ शिर्षकको गीतको भिडियो यतीबेला रिलिज गरिएको हो । गीतमा भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी कब्जा गरेको बिरुद्ध आबाज उठाईएको छ । पूर्खाले आर्जेको भूमिको रक्षा गर्ने दायित्व हरेक नेपालीको काँधमा आएको सन्देश दिने गरी शुक्रवार म्युजिक भिडियो सार्वजनिक भएको हो ।

यो गीतलाई कलाकार उत्तम केसीले लेखेका हुन् । यो गीतमा गायक विजय अधिकारी र गायिका मनिष राईको स्वर रहेको छ ।

गीतमा संगीत विजय अधिकारीको रहेको छ । गीतमा नेपाल कलाकर्मी संघका अध्यक्ष रबिन्द्र खड्का, मोहन निरौला, लय संग्रौला, जितु नेपाल, गोपाल ढकाल, सुभेक्षा थापा, उत्तम केसी,आशा भुषाल लगायत कलाकार संघका कलाकर्मीको अभिनय रहेको छ ।

 

अतिक्रमित भूमि फर्काउन सरकारले हालै लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको समर्थनमा यो गीत ल्याएको कलाकार केसीको भनाई छ ।

यो गीतको भिडियो निर्देशन जीवन शाहीले गरेका हुन् । यसको निर्माण साईराम पिक्चर्स प्रालिका प्रबन्ध निर्देशक शम्सेर श्रेष्ठले गरेका हुन् । राष्ट्रियताको विषयमा कोही पक्ष, विपक्ष, प्रतिपक्ष नहुने सन्देश दिन गीत निर्माण गरिएको निर्माता शम्सेर श्रेष्ठले बताए ।