ब्युटी न्युज नेपाल
काठमाडौं, १६ बैशाख

आज फेरी कोरोना सँक्रमित २ जना थपिएका छन् । यो सँगै नेपालमा कोरोना सँक्रमितको सँख्या ५४ जना पुगेको छ ।

रौतहट स्थित देवाही गोनाही नगरपालिका १ र वृन्दावन नगरपालिका ९ भुसहाका एक/एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा यी दुई पुरुषको कोरोना संक्रमण पोजेटिभ आएको हो ।

गत १२ बैशाखमा लिईएको रौटहटका ८३ जनाको स्वाब परिक्षणको क्रममा यी दुई जनामा कोरोना सँक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहका अनुसार सँक्रमित दुबै भारतबाट केही समय अघि आएका हुन् । देवाही गोनाही १ का ३५ वर्षका पुरुष पनि भारतबाट आएको बताईएको छ । उनी अहिले पनि क्वारेन्टाइनमै रहेका छन् ।

यता बृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेका थिए । उनी घर फर्किएपछि कोरोना सँक्रमण देखिएको हो । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको पनि साहले बताएका छन । उनलाई अब केही समय आईसोलेसनमा राखिने भएको छ ।