गायक प्रकाश सपूतको २ लाख सहयोग


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ चैत

कोरोना भाइरस रोकथामका लागि सरकारले खडा गरेको कोषमा गायक प्रकाश सपुतले २ लाख रुपैयाँ प्रदान गरेका छन् । उनी अहिले बाग्लुङमा छ ।

२ लाख रुपैयाँको चेकलाई कोषमा जम्मा गरिदिन भन्दै पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषलाई गायक सपूतले चेक हस्तान्तरण गरेका हुन् ।

गायक सपुत तीन साता यताबाट चलचित्र परदेशी २ को छायाँकनमा थिए । सरकारले कोरोना भाईरसको सँक्रमणका कारण शुक्रबारबाट चलचित्र परदेशी २ को छायाँकन स्थगित गरियो । त्यसपछि कोरोनाबाट बच्नका लागि शनिबार बागलुङ धम्जाको आफ्नै घर पुगेको यी गायक अभिनेताले बताएका छन् । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम गर्नका लागि भनेर ५० करोड रुपैयाँ बराबरको कोष स्थापना गरेको छ ।

गायक सपुतले प्रधानमन्त्री ओलीलाई सामाजिक सञ्जाल मार्फत एक पत्र लेख्दै कोरोना भाईरस सतर्कताका लागि नेपाल सरकारले गरेका प्रयासको प्रसँसा गरेका छन् ।

आफु यतीबेला सेल्फ क्वारेन्टाईनमा बसेको जनाउँदै उनले लेखेका छन्,‘सरकारकै निर्देशनलाई पालना गर्दै सबै काम धन्दा छोडेर भिडभाड कम हुने र बस्ती अलि पातलो भएको आफ्नै गाउको घरमा आएर सेल्फ क्वारेनटाईनमा बसेका छौ । दशैमा समेत नजुटिने हाम्रो परिवार यसपाली घर भरी भएका छौ ।’ उनले अहिलेको पारिवारिक र बैदेशिक रोजगारको अबस्था पनि चित्रण गरेका छन् ।

पत्रमा लेखेका छन्,‘एउटा जिम्मेवार नागरिकका हैसियतले यो रकम यो विषम परिस्थितीका निमित्त सहयोग गर्न चाहन्छु । कहा कसकों नाममा दिने निधो नभएपछि रकम लेखेर हस्ताक्षर गरेको चेक पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषको रोहबरमा महासंघको कार्यलय बागलुङमा पठाएको छु । यो रकम सरकारकै मातहतमा जहाँ चलाए पनि हुन्छ ।’