घाँसीकुवामा बस दुर्घटना, एकको मृत्यु, १८ जना घाईते 


रासस

दमौली, ९ चैत

 आइतबार बिहान पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बस दुर्घटना भएको छ । सो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–२ बस्ने २५ वर्षीया शर्मिला ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मुग्लिङदेखि पोखरातर्फ आउँदै गरेको ग१ख ४९०० नम्बरको बस सडकमा पल्टिँदा च्यापिएर ठकुरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । ‘अगाडिको सिटमा बसेकी युवती झ्यालको शिशा फुटेर बसबाट खसेको र सोही बसले च्यापिएर मृत्यु भएको रहेछ’ , उनले भने ।

उनका अनुसार दुर्घटनामा बसमा सवार १८ जना घाइते भएका छन् । ती घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि पोखरा र एक जनालाई काठमाडौं पठाइएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको पनि प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी गराएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही अघि बढाएको पनि उनले बताए ।