कोरोनाबारे हाँस्यकलाकार पन्तको भिडियो सन्देश


ब्युटी न्युज नेपाल

काठमाडौ ८, चैत  

 विश्व्यापी रुपमा कोभिड १९ कोरोना भाईरसको प्रभाव फैलिएको बेला बरिष्ट अभिनेता सन्तोष पन्तले भिडियो मार्फत कोरोना भाइरसबिरुद्धको अभियान अघि बढाएका छन् । भिडियोमा अभिनेता पन्तले नेपालमा अहिलेसम्म कोरोनाको महामारी नफैलिए पनि सुरक्षित रहन गर्नुपर्ने बिधिहरुबारे जानकारी दिएका छन् । उनले भिडियोमा साबुन पानीले हात धुने,सेनेटाइजर प्रयोग गर्ने, अत्याबश्यक काम नभएसम्म घरबाहिर ननिस्कने, भीडभाडमा नजाने लगायतका सावधानी अप्नाउन अपील गरेका छन् । उनले आफ्नो तर्फबाट रवि लामिछाने, दीपा श्री निरौला र दिनेश डीसीलाई पनि कोरोना भाइरसबाट जोगीन गर्नुपर्ने बिधि बारे जनमानसमा सन्देश पुर्याउन आग्रह गरेका छन् ।

उनको भिडियो सन्देश बैशाख १२ गतेलाई प्रदर्शन मिति तोकिएको ‘हिजो आजका कुरा’ फिल्म टिमले समाजीक संजालमा सार्वजनीक गरेको हो । ‘हिजो आजका कुरा’ का निर्देशक साकार पन्तले आफ्नो फिल्म र फिल्ममा संलग्न कलाकारको माध्यमबाट कोरोना भाइरस बारे सचेतना जगाउन अभियान थालेको बताए । उनले पहिलो चरणमा आफना पिताको भिडियो पोस्ट गरेको र क्रमश अन्य कलाकारको पनि भिडियो सन्देश जनमानसमा पुर्याइने जानकारी दिए ।

फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव पन्त,रिमा बिश्वकर्मा,जयनन्द लामा,जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्यलगायतका कलाकारले अभिनय गरेका छन् ।

पन्त फिल्म प्रोडक्सनबाट निर्मित फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त,सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । रवि सायमीले खिचेको फिल्मको कथा सन्तोष पन्तको हो भने सन्दीप किस्नाको पटकथा छ ।