ब्युटी न्युज नेपाल
चितवन, ८ चैत

कलाकारहरुको हक हितसँगै सामाजिक कार्यमा समेत सक्रिय रहेको नेपाल चलचित्र कलाकार संघले भरतपुर महानगरपालिका वडा नम्बर १६ स्थित रामपुरमा निर्माणा भईरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

संघको पहलमा सँकलन गरिएको १ लाख ६१ हजार रुपैयाँको चेक हस्तान्तरण भएको छ । अमेरिका निवासी सागर श्रेष्ठको समन्वयमा संकलित रकम नेपाल चलचित्र कलाकार संघ मार्फत धुर्मस सून्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्तरण गरिएको हो ।

नेपाली एशोशिसयन अफ नर्दन क्यालिफोर्निया, सन्नी सगरमाथा समाज सन्नी भ्याली, क्रियटिभ नेपाल युथ अर्गनाइजेशनको संयुक्त पहलमा रकम सँंकलन गरिएको रकम हस्तान्तरण समारोहमा जानकारी गराईयो । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै संघका अध्यक्ष रविन्द्र खड्काले राष्ट्रिय गौरवको यस आयोजनालाई कलाकार संघ मार्फत चेक रकम हस्तान्तरण गर्न पाउंँदा खुशी भएको बताए ।

अध्यक्ष खड्काले रंगशाला निर्माणमा हरेक नागरिकको उत्तिकै दायित्व रहेको भन्दै आगामी दिनमा पनि संघले सहयोग गर्ने प्रतिबद्धता जनाए । संघका उपाध्यक्ष एवं प्रवत्ता मोहन निरौलाले राज्यले गर्ने यो आयोजना एउटा कलाकारको अभियानमा निर्माण भइरहेको भन्दै यस अभियानले आम कलाकारको शिर उंँचो बनाएको बताए ।

यस अघि सागर श्रेष्ठकै पहलमा नेपाल चलचित्र कलाकार संघ मार्फत ६ लाख ६६ हजार ६सय ६६ रुपैयांँ सहयोग भईसकेको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष खड्का उपाध्यक्ष निरौला, महासचिब चेतबहादुर सिंह (राजा), केन्द्रिय सदस्य रामेश्वर बुर्लाकोटी सहितको टोली सो रकम हस्तान्तरणको लागि शुक्रबार चितवन पुगेको हो ।