मछिन्द्रनाथ देखि घोडे जात्रासम्म रोकिँदै 


ब्युटी न्युज नेपाल

काठमाडौं, ७ चैत 

यतीबेला कोरोनाको भाइरल संसार भर फैलिरहेको छ । यसबाट नेपालीहरुलाई बचाउन सरकारले हर प्रकारको सुरक्षाको तयारी गरिरहेको छ ।

चाँडै नै मुलुक ‘लक डाउन’ (नागरिकहरु आफ्नै घरमा बस्नु पर्ने अबस्था)को तयारीमा सरकार जुटिरहेको बेला मुलुकमा हुने सबै प्रकारका जात्रा एवम् मेलाहरु आयोजना गर्न आगामी चैत मसान्तसम्म सरकारले रोक लगाएको छ । २५ जना भन्दा बढी व्यक्तिहरु एकै ठाउँमा जम्मा हुन नपाउने सरकारी निर्णयपछि यो चैत महिनाभरी आयोजना हुने सबै प्रकारका जात्राहरु स्थगित हुने भएका छन् ।

यही १९ चैतबाट ३ दिनसम्म आयोजना हुने सेतो मछिन्द्रनाथको यात्रा पनि यही कारण स्थगित भएको छ । यो यात्राको तयारी भईरहेको थियो । सरकारले यो महिनाभरी कोरोनाबाट बच्न अत्याबस्यक काम बाहेक घरबाट कसैलाई पनि ननिक्लन निर्देशन दिएपछि जात्रा स्थगित गर्नु परेको रथयात्रा व्यवस्थापन समितिका संयोजक काठमाडौं महानगरपालिका(२५ का बडाध्यक्ष नीलकाजी शाक्यले बताएका छन् । यात्राका संयोजक शाक्यको अध्यक्षतामा बसेको गुठी संस्थानका अध्यक्ष मिनराज चौधरी र पुजारीहरुसहितको बैठकले यात्रा स्थगित गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा सेतो मछिन्द्रनाथ र पाटनमा रातो मछिन्द्र नाथको यात्रा गरिन्छ । यी दुबैलाई सहकालको देवताको रुपमा लिने गरिएको छ । उता यो महिनाको अन्तिमबाट सुरु हुने रातो मछिन्द्रनाथको यात्राबारे पनि ब्यबस्थापन समितिबीच के गर्ने भन्ने छलफल चलिरहेको छ ।

यता नेपाली सेनाले विशेष रुपमा हरेक वर्ष मनाउँदै आएको घोडे जात्रा यो वर्ष नहुने बुझिएको छ । ११ चैतमा यो वर्षको घोडे जात्रा परेको छ । जात्राको तयारीमा एक महिना अघिबाटै टुँडिखेलमा घोडा दौडाको अभ्यासमा सेनाहरु लागिरहेका छन् । तर जात्रा हेर्न हजारौं नागरिकहरु काठमाडौंको टुँडिेखल आसपास जम्माहुने र सेनाले राष्ट्रप्रमुख देखि त्यत्तिकै सँख्यामा अतिथिलाई निम्ता गर्ने भएकाले अहिलेको अबस्थामा घोडे जात्रा नहुने बुझिएको छ । यसबारे सेनाले चाँडै सूचना गर्नेछ ।