कोरोनाबाट सुरक्षित हुन बन्द गरियो देशभरका सिनेमा हल 


ब्युटी न्युज नेपाल

काठमाडौं, ५ चैत 

दर्शकहरुले अब घरमै बसेर युट्युव तथा अन्य च्यानलबाट चलचित्र हेर्नु पर्ने भएको छ । यतीबेला विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस सन्त्रास छ । यसैलाई मध्यनजर गर्दै सरकारले आगामी ३० अप्रिय अर्थात १८ बैशाखसम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ ।

आगामी १८ बैशाखसम्म सिनेमा हल, खेलस्थल, जीम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय बुधबार गरिएको हो । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले यस्तो निर्णय गरेको हो ।

बिहिबारबाट मुलुकभरका सिनेमा घर बन्द भएको छ की छैन भनेर सरकारले अनुमगन पनि गर्ने भएको छ । सो अनुगमानको जिम्मा गृह मन्त्रालय, संस्कृतिक, पर्यटन तथा नागरिक उड्डायन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिइएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिद्धारा बुधबार गरिएको निर्णयको बुँदा नं.२ मा यस्तो भनिएको छ,‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने ।’

हल सञ्चालकहरुको संस्था नेपाल चलचित्र संघका महासचिब अशोक शर्माले सरकारको यो निर्णयको स्वागत आफुहरुले गरेको बताएका छन् । सो निर्णयसँगै आफुहरुले मुलुक भरका सिनेमा हल सञ्चालक सदस्यहरुलाई ६ चैतबाट आगामी १८ बैशाखसम्म आफ्नो सिनेमा हल बन्द गर्न निर्देशन दिईसकेको बताए ।