ब्युटी न्युज नेपाल
धरान, २७ फागुन

पहिलो स्कुल डान्स आइडल २०७६ को उपाधि सैनिक आवसीय माविका छात्र इसन विश्वकर्माले हात पार्न सफल भएका छन् । सुनसरी उद्योग वाणिज्य संघ द्वारा आयोजित १० दिने औद्योगिक व्यापार मेलाको अवसरमा यो प्रतियोगिता आयोजना गरिएको हो । पब्लिक हाईस्कुलको खेल मैदानमा आयोजित मेलाको समापन समारोहमा भएको स्कुल डान्स आइडल फिनाले प्रतियोगितामा विश्वकर्माले उपाधिसँगै नगद ५० हजार ५ सय ५१ रुपैयाँका साथमा प्रमाणपत्र र मायाको चिनो समेत हात पारे ।

यस्तै सुनाखरी इङलिस बोर्डिङ स्कुल धरानकी बिनिसा राई दोस्रो बन्दै नगद २५ हजार ५ सय ५१ रुपैयाँका साथमा प्रमाणपत्र र मायाको चिनो प्राप्त गरिन्भने आवरहोम बोर्डिङ स्कुल धरानकी करिश्ता राई तेस्रो बनिन् । उनले नगद १५ हजार ५ सय ५१ रुपैयाँका साथमा प्रमाणपत्र र मायाको चिनो प्राप्त गरिन्। युनाइटेड डान्स एकेडेमीको संयोजन तथा सिल्भर इन्टर टेनमेन्टको व्यवस्थापनमा कार्यक्रम आयोजना भएको प्रतियोगिताका मुख्य निर्णायक वरिष्ठ नृत्य निर्देशक गोविन्द राई, धरानकी नृत्य निर्देशक नन्दनी राई र निका मोक्तान रहेका थिए ।

बिजेताहरुलाई आयोजक संस्थाका अध्यक्ष गिरीधारी सापकोटा, कार्यक्रम संयोजक शिवराज श्रेष्ठ, कोषाध्यक्ष गोपाल श्रेष्ठ एवं निर्णायकहरु समेतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा धरानका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुगरी १७ वटा विद्यालयका २८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो। जसमा सहभागी २८ बाट दोश्रो चरणमा १५ जना छनौट भएका थिए । अन्तिममा १० जना प्रतिस्पर्धीलाई मात्र लगिएको थियो ।