पारसको नायक अनमोल केसी, सर्यो एन्टी हिरो


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ फागुन

अभिनेता अनमोल केसी नयाँ चलचित्र ‘पारस’मा अनुबन्धित भएका छन् । यही चलचित्रबाट ‘लुट’ निर्माता माधव वाग्लेले निर्देशक बन्दैछन् ।

फागुनको अन्तिम साताबाट नयाँ चलचित्र ‘ए मेरो हजुर ४’को छायाँकन सुरु गर्ने भनेका अनमोलले चलचित्र पारसको छायाँकन बैशाखबाट गर्नेछन् ।

चलचित्र पारसबारे नव निर्देशक माधव वाग्लेले भने,‘चलचित्र पारसको स्कृप्ट मन परेपछि केही क्षण अघि मात्र यो चलचित्रको नायकमा अनमोल केसी हुने सम्झौता भएको छ । यो चलचित्रको निर्मातामा भुवन केसी हुने छन भने मैले यसलाई निर्देशन गर्ने भएको छु ।’

निर्देशक वाग्लेले अगाडि थपे,‘चलचित्र पारसलाई हामीले आगामी दशैंमा रिलिज गर्दैछौं । यो नायक प्रधान चलचित्र रहेको पनि यहाँलाई जानकारी गराउँदछु ।’ एक दशकदेखि निर्माणमा हात हालेका माधवले आधा दर्जन भन्दा बढी फिल्म बनाईसकेका छन् । यसपटक उनी निर्देशकको रुपमा प्रस्तुत हुन लागेका हुन् ।

बिगतमा निर्माताको रुपमा रहँदै आएका वाग्लेले आहिलेलाई आफु चलचित्र पारसको निर्देशक मात्र रहेको बताएका छन्,‘म निर्मातामा रहने या नरहने त्यो सल्लाह भएको छैन । अहिलेलाई भुवन केसी नै यो चलचित्रको निर्माता हुनुहुन्छ ।’

दुई नायक र दुई नायिका रहने यो चलचित्रमा अर्को नायकको रुपमा अभिनेता निर्देशक निश्चल बस्नेत यस अघि नै तय भएको पनि निर्देशक वाग्लेले बताए । उनका अनुसार नायिका र अन्य कलाकारको कुरा हुँदैछ । यो फिल्म सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुनेछ ।

यो फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्म एक्सन प्रधान लभस्टोरी जनरामा केन्द्रित हुनेछ ।

यता भुवन केसीले बैशाखदेखि चलचित्र ‘एन्टी हिरो’ को छायांकन सुरु गर्ने भनेका थिए । सो चलचित्रको स्कृप्ट अझै पुरा नभएकोले छायाँकन केही समयका लागि सरेको छ । आगामी दशैंमा पारसको रिलिज गरेपछि मात्र फिल्म एन्टि हिरोको छायाँकन सुरु गर्ने योजनामा भुवन केसी छन् ।