चलचित्र मारुनीको लन्डनमा रेड कार्पेट शो हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ फागुन

नेपाल रिलिजपछि बिदेश छिरेको चलचित्र ‘मारुनी’को यतिबेला विभिन्न देशमा शोहरु भैरहेको छ । अष्ट्रेलिया, जापानलगायतका देशमा चलचित्रले राम्रो प्रतिक्रिया पाइसकेको यसका निर्माता पूनम गौतम क्षत्रीले जानकारी गराएकी छन।

अब, यो चलचित्रको शो बेलायतको राजधानी लण्डनमा आयोजना गर्न लागिएको गौतमले जानकारी दिईन् । यो चलचित्रको बेलायत शोका लागि निर्मात्रा गौतम र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बेलायत पुग्नेछन् । २३ फेब्रुअरीमा अल्डरसटस्थित एम्पायर हलमा यो चलचित्रको विशेष शो आयोजना हुन लागेको गौतमले जनाएकी छिन् ।

एनआरएन यूकेका उपाध्यक्ष सुनिल खड्काले साम्राज्ञी र निर्मात्रा गौतम लण्डन आउने निश्चित भएको बताए । खड्काका अनुसार चलचित्र हेर्नका लागि १० बर्ष भन्दा तलका बालबालिका र ६० बर्ष माथिका मानिसहरुलाई निःशुल्क व्यवस्था गरिएको पनि जानकारी दिए । चलचित्रको विशेष शोमा सहभागी हुने फेब्रुअरी २१ मा साम्राज्ञी र पूनम लण्डन उड्नेछन् । निर्मात्रा गौतमका अनुसार, लण्डनमा आयोजना हुन लागेको शोका लागि सम्पूर्ण टिकट विक्री भैसकेको छ ।

यस्तै, यो चलचित्रको रेड कार्पेट शो पनि लण्डनमा आयोजना हुने पूनमले बताइन् । नवल नेपाल निर्देशित यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ र पुष्पल खड्काको मुख्य भूमिका छ ।