१८ घन्टासम्म फिल्ममा काम गरेको राजेशको खुलासा


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ फागुन

काठमाडौंमा जारी नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको चौथोदिन अभिनेता राजेश हमालले आफ्नो कथा सुनाएका छन् । करिब दुई घन्टा आफ्नो कथा सुनाएका हमालले फिल्म क्षेत्रमा आफ्नो प्रवेशसँगै पछिल्लो समय फिल्मबाट लिइरहेको बिश्रामको कारणसम्मका कुरा दर्शकमाझ बाँडेका थिए ।

सो क्रममा उनले आफ्नो अभिनय यात्रा अद्भूत भएको दाबी गरेका छन् । आफ्नो कथा सुनाउन उपस्थित हमालले यस्तो दाबी गरेका हुन् । आफ्नो प्रवेश पछि नै नेपाली फिल्ममा क्रान्ति भएको पनि दाबी गर्दै उनले भने,‘ म जतिबेला फिल्ममा आएँ त्यतिबेलासम्म मुस्किलले दर्जन फिल्म बनेका थिए । तर, पहिलो फिल्म रिलिज भएपछि मैले त्यसयताका १२ वर्ष लगातार १४ देखि १८ घन्टासम्म काम गरें ।‘ उनले अगाडि थपे,‘यो क्रममा मैले मात्र काम गरिन,सँगै अन्य कलाकार र प्राविधिकले पनि काम गरे । मेरो प्रवेशपछि अरु त नभनौं मिनी रिभोल्युसन त भयो नै ।’

चलचित्र अभिनयमा तीन दशक बिताएका हमाललाई जति फिल्म खेलेपनि उत्कृष्ट फिल्म भने नखेलेको आरोप छ । कथा भन्ने क्रममा उनले यो आरोपको पनि खण्डन गरे । हमालले भने,‘इतिहासलाई तपाईंले अहिलेको आँखाबाट हेर्नु भयो भने धेरै कमजोरी देख्नुहुन्छ । मैले ज्यादा फिल्म किन गरें भने त्यतिबेला मलाई लाग्यो ज्यादा फिल्म बन्न जरुरी छ । जब तपाईंसँग छनोटको अवसर हुन्छ तब तपाईंले क्वालिटीको कुरा गर्ने हो । नेपाली फिल्मको अवस्था पनि त्यही थियो । त्यो समय फिल्म बनाउन चाहानेलाई हतोत्साही गर्नु सही थिएन ।’

राजेश हमालले आफ्नो जीवनकालमा विभिन्न भूमिका निर्वाह गरे । धनी मानिस देखि भरियासम्मको भूमिका निर्वाह गरे । धेरैलाई उनले ति सबै भूमिका कसरी निर्वाह गरे होलान् भन्ने जिज्ञाषा थियो । हमालले आफ्नो कथा बताउने क्रममा यसको बारे पनि उनले प्रस्ट पारे,‘ आजभोलि जसको भूमिका गर्ने हो उसको बारेमा हप्ता दस दिन अध्ययन गर्ने प्रचलन छ । तर, मैले कहिलै पनि त्यसो गरिँन । मलाई के लाग्छ भने जब तपाईं आफूलाई उसको जुत्तामा उभिएर उसको अवस्था अनुभूत गर्न सक्नुहुन्छ तपाईं जस्तो रोल पनि निर्वाह गर्न सक्नु हुन्छ,’

पछिल्लो तीन वर्षयता भने हमाल चलचित्र खेल्न डराइरहेका छन् । उनी पर्दामा नदेखिएको तीनवर्षभन्दा बढी भइसक्यो । के हमालले अभिनय छाड्न लागेका हुन् ? हमालले नयाँ शैलीमा आउन चाहेकाले बीचको समयमा अध्ययन गरिरहेको बताए ।

‘चलचित्रमा अभिनय गर्ने धोको पुग्यो भन्ने लागेको छैन,’हमालले भने, ‘नयाँ समयमा कसरी आउने भन्ने सोचिरहेको छ । आफैं फिल्म निर्देशन गर्ने तयारी पनि गरिरहेको छ् ।’