ब्युटी न्युज नेपाल
काठमाडौं, २८ माघ

लिम्बू भाषा, संस्कृतिमा बनेका फिल्म र म्युजिक भिडियोको अवार्ड काठमाडौंमा आयोजना गरिएको छ । समारोहमा लिम्बू फिल्म तथा म्यूजिक भिडियोलाई ‘एफएलएफ अवार्ड २०७६’ बाट सम्मानित गरियो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख आतिथ्यमा सम्पन्न सो अवार्ड समारोहमा सात वटा लिम्बू फिल्म र २० वटा म्यूजिक भिडियो सहभागी भएका थिए ।

फाल्गुनन्द लिङदेन फिल्मस् आयोजक रहेको कार्यक्रममा अवार्डका जुरी येहाङ लावती र विनोद सेरेङलाई सम्मान गरिएको थियो । आयोजकले गायक भगत सुब्बालाई लाइफ टाइम एचिभमेन्ट एवार्ड प्रदान गरेका थिए ।

यस अवार्डमा लिम्बू फिल्मबाट अवार्ड पाउनेमा निर्देशक सागर केरुङ, नायक भिम तुम्बाहम्फे, नायिका पुष्पा लिम्बु, गायक मनि ताम्लिङ, गायिका श्रेयसी चेम्जोङ, संगीत कुल्बा सुब्बा, कथा सागर केरुङ, छायांकन भुपेन्द्र तुम्बाहम्फे थिए ।

त्यस्तै म्यूजिक भिडियोतर्फ निर्देशक लोकेन सावा लिम्बू, गायक सुसन साम्सोहाङ, गायिकाका दिपा सुहाङ, नायक तथा मोडल रुद्र पाहिमलिम्बु, नायिका तथा मोडल लक्ष्मी योङहाले अवार्ड पाए । त्यस्तै पब्लिक अवार्डमा गायक निर्मल तुम्बाहम्फे अब्बल रहँदा जुरी अवार्ड नायक नरेन्द्र सेन्दाङ र नायिका बबिता फोम्बोले पाए । नवनायकतर्फ विशाल सेनेहाङ उत्कृष्ट ठहरिए ।

कार्यक्रममा नेपाली चलचित्रका निर्देशक मदन घिमिरे, गायका धिरज राई र पत्रकार पारसमणि पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रममा सोम लामा, सरिता राना, नुमा शेर्पा र दिपा सुहाङले सांगीतिक प्रस्तुति दिए । यासेली योङहाङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।