मन परेसीको मुहुर्त, आईतबारबाट छायाँकन हुने


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ माघ

नयाँ चलचित्र ‘मन परेसी’ को निर्माण हुने भएको छ । यो फिल्मको श्रीपंचमीको अवसर पारेर बिहिबार काठमाडौंको भद्रकाली मन्दिरमा फिल्म युनिटको उपस्थितिमा मुहुर्त गरिएको हो । मुहुर्तमा फिल्मकी अभिनेत्री पुजा शर्मा, अभिनेताद्वय आकाश श्रेष्ठ र रविन्द्र झा, डेब्यु अनुहार मोनालिसा खतिवडा थिए ।

भद्रकाली मन्दिरमा पुजा र आकाशले स्क्रिप्टको पूजा गर्दै सफलताको कामना गरे । चलचित्र ‘जय शम्भु’बाट निर्देशन सुरु गरेका रुपेश थिङ तामाङले निर्देशन गर्ने यो चलचित्रमा आकाश र पूजासँगै बुद्दि तामाङ, रविन्द्र झा, शिशिर राणा, किरण श्रेष्ठ, लक्ष्मण श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

यो फिल्मको प्रस्तुतकर्ता रघु परियार, वितरकमा करण श्रेष्ठ छन् । अमृत थिङ तामाङ फिल्मको कार्यकारी निर्माता र दिनेश शाहीरचक्र पाख्रिन तामाङ निर्माताको रुपमा रहेको फिल्ममा भुवन राज जोशी, कृष्ण परियार, ज्ञानु प्रसाद खनाल र प्रेम बहादुर घर्ती सह निर्मातामा रहेका छन् ।

हरि घले लामाले खिच्ने फिल्ममा राजु तामाङको द्वन्द्व र रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहने छ । अर्जुन पोखरेल, पुरुषोत्तम न्यौपाने, श्रीकृष्ण बर्देवाको संगीत यसमा रहने छ । आउँदो आइतबारबाट छायांकन सुरु हुने यो चलचित्र आगामी वर्ष तिजमा रिलिज रिलिज गरिने भएको छ ।