आयो गायक गम्बु शेर्पाको वेलकम माई हार्ट गीत

ब्युटी न्युज नेपाल
काठमाडौं, ९ माघ

लामो समय अमेरिकाको बसाई पश्चात नेपाल फर्केर आफ्नो ब्यबसाय सुरु गरेका गायक गम्बु शेर्पा फेरी गायनमा सक्रिय भएका छन् । गायक शेर्पाले नयाँ गीत ‘वेलकम माई हार्ट…’ दर्शकमाझ ल्याएका छन् । काठमाडौंमा बिहिबार साँझ एक कार्यक्रमको आयोजना गर्दै पत्रकारहरुका सामु नयाँ गीत वेलकम माइ हार्ट..को भिडियो उनले सार्वजनिक गरेका हुन् ।

बिगत २५ बर्षदेखि गायन पेशालाइ अंगाल्दै आएका गम्बु शेर्पा एक राम्रो मनकारी समाजसेवीका रुपमा परिचित छन् । गायक गम्बु शेर्पाले अहिलेसम्म १३ वटा एल्बम बजारमा ल्याइसकेका छन् । उनले २ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।

गम्बु शेर्पाको स्वर रहेको यो नयाँ गीतमा प्रकाश लामा र आशुसेन लामाको सहगायन छ । आशुसेन लामाको शब्द तथा संगीतमा तयार भएको यो गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।

यो गीतको भिडियो प्रदीप लामाको निर्देशनमा बनेको हो । वेलकम माइ हार्ट…को भिडियोमा कलाकारहरु प्रदीप लामा, अलिशा शर्मा, सरिता तामाङ, मन्जु तामाङ, श्रीजन रावल र अंकुश शाहीको अभिनय छ । भिडियोमा सम्पादन पवन सुस्लिङ्गको रहेको छ भने प्रदीप लामाको कोरियोग्राफ हो ।

ओखलढुङ्गा जिल्लामा जन्मेका गायक तथा समाजसेवी गम्बु शेर्पा बिगत १७ बर्ष देखि अमेरिकामा बस्दै आएका हुन् । उनी फुड क्लोथ एजुकेशन डट ओआरजी, थ्री जी साउण्ड इन्कका अध्यक्षका साथै नेपाल अमेरिकन आर्टिस्ट एसोसियसनका पूर्व अध्यक्षसम्म रहेका छन । उनले बिगत लामो समयदेखि दिनदुःखी, अनाथ अपाङ्ग देखि कलाकारहरुलाई पनि सहयोग गर्दै आएका छन् । उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि लगानी गर्दै आएका छन् । उनले आफ्नो कमाईको केहि प्रतिशत समाजसेवाको लागि भनेर समेत छुट्टयाउने गरेका छन् ।