ब्युटी न्युज नेपाल
काठमाडौं, ७ माघ

अभिनेत्री पुजा शर्माले चितवनको भरतपुरमा एउटा फेशन शो रुमको उद्घाटन गरेकी छिन् । स्क्वाड नेपाल प्रालिले चितवनको भरतपुरमा फेशन सेल सेन्टर केटिएम सिटी तथा बिदेशी ब्राण्ड अन्टाको शोरुमको उद्घाटन गरेकी हुन् ।

शोरुम उद्घाटनका लागि सिजी मल परिसरमा औपचारिक कार्यक्रम पनि गरिएको थियो । बिदेशी ब्राण्डको कपडाका लागि गरिने खर्च भन्दा निकै कम खर्चमा आफ्नो देशमै उत्पादित स्वदेशी ब्राण्ड रोज्न पाउनु गौरवको कुरा भएको उद्घघाटन कार्यक्रममा नायिका शर्माले बताईन् । चितवन आउन जुर्ने हरेक अबसरले आफुलाई आनन्दित तुल्याउने गरेको बताउँदै आफुलाई जस्तै स्वदेशमै उत्पादित यो ब्राण्डलाई पनि माया गरिदिन अभिनेत्री शर्माले कार्यक्रममा उपस्थित दर्शकहरुलाई अपिल गरिन ।

हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ ले आफ्नो हास्य प्रहसनले उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिइन । उनले प्रहसन गर्दा दर्शकहरु पेट मिची मिची हाँसेका थिए ।

कार्यक्रममा गायक रामचन्द्र काफ्लेले आफ्ना केही सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । काफ्लेकी श्रीमती, गायिका जुनु रिजालले पनि सांगीतिक माहौलमा केही गीतहरु सुनाईन् ।

कार्यक्रममा स्क्वाड नेपालका फिलिप डिसीले मध्यम बर्गिय देखि उच्च ब्राण्डको कन्सेप्ट भएकोले पनि यो शोरुमबाट लाभ लिन सक्ने बताए । अर्का संचालक सुरज गिरीले धेरै अथक प्रयास पछि राजधानीमा अतिनै लोकप्रिय रहेको केटिएम सिटी चितवनका उपभोक्ता माझ ल्याउन पाउँदा आफुले गौरवान्वित महसुस भएको छ भने ।

कार्यक्रमका ईक्यान नेपालका निवर्तमान अध्यक्ष बिष्णुहरी पाण्डे, युवा उद्यमि राम कार्की, संगितज्ञ श्याम नेपालीलगायतले व्यावसायिक सफलताको शुभेच्छा प्रकट गरेका थिए । स्क्वाड नेपाल प्रा. लि. चितवनभरको केटिएम र अन्टा ब्राण्डको बितरक रहेको र छिट्टैनै चनौली, टाँडी, पर्सालगायतका ठाँउमा यसले आफ्नो सेवा बिस्तार गर्ने संचालक मध्यका एक उत्तम गुरुङले बताए ।