जेवी टुहुरेले गाउँदा दर्शकको आँखा रसायो


ब्युटी न्युज नेपाल
काठमाडौं, २ माघ

हरिवन–५ घुर्कैली स्थित श्रवण द्वन्द पीडित बालगृहमा जेवी टुहुरे एकल साँझ  टुहुरेको निरन्तरता–भाग ४ रुपमा सम्पन्न भएको छ । कार्यक्रममा जेवी टुहुरेले आमा माया… बोलको गीतबाट शुरु गरी लगभग १४ वटा गीत प्रस्तुत गरेका थिए ।

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हरिवन नगरपालिकाको तर्फबाट अभिनन्दन गरिएको थियो । कार्यक्रमको मुख्य सहयोग हरिवन नगरपालिकाको रहेको थियो भने स्थानीय व्यवस्थापनमा चेतना सन्देश नेपालले सघाएको थियो ।

प्रमुख अतिथिका रुपमा माधवकुमार नेपालले ६ दशक लामो जेवी टुहुरेको प्रगतिवादी साङ्गितिक क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गरे । जेवी टुहुरेको एकल गायनमा प्राज्ञ उदय श्रेष्ठ, सँसाद मधु गुरुङ र कलाकार द्वय आकाश थापा र गंगा राईले साथ दिए ।

बाध्यवादनमा चर्चित शेक्सोफोन वादक मनोहर सुनाम, वेस गीतारमा अनुप दास, तवलामा भरत बुढाथोकी, ढोलकमा राम सुस्लिङ, मादलमा पोषण घर्ती, बाँसुरीमा गोपालदेव घतानी, किवोर्डमा राहुल भुजेल, अक्टोप्याडमा शशिभुषण भट्टराई र गीतारमा दिवस श्रेष्ठले साथ दिए ।

पर्यटन वर्ष २०२० लाई लक्षित गरी आयोजना गरिएको सो कार्यक्रममा प्रगतिवादी सांस्कृतिक अभियानका क्रममा २०२४ सालदेखि गाउँदै आइएका चर्चित गीतहरु आमा दिदी बहिनी हो…, बसाई हिड्नेको तातीले…, दुस्खको बोझ विसाउन…, पानी चल्दैन रे…, बरु मेरो छाती छेड्ला… लगायत मधु गुरुङद्वारा रचना तथा संगीतवद्ध प्रदेश नं २ को पर्यटन गीत समेत प्रस्तुत गरिएको थियो ।

भारतमा लगेर बेचिएकी चेलीको कथा व्यथा बोकेको गीत विदेशमा मैले एउटी चेलीलाई देखे… भन्ने नृत्यमा गीता थापाले नृत्य प्रस्तुत गरिरहँदा धेर दर्शकहरुको आँखा रसाएका थिए । उदय श्रेष्ठ र आकाश थापाले प्रस्तुत गरेका गीत नागाले भाले…गीतमा दर्शकहरु नाचेका थिए । सो गीत पुनः प्रस्तुतिको माग गरेकाले पुन दोहोर्याईएको थियो । कोशी गरी आउनु… गीतमा प्रदेश नं २ को विभिन्न पर्यटकीय स्थलहरुको वर्णन गर्दा दर्शकहरु रमाएका थिए ।

टुहुरेले गायनका क्रममा प्रस्तुत गरेको भोजपुरी गीत खेत वा जोत वा किसान रे… गीतमा तराईमूलका दर्शकहरु खुवै रमाएर सँगैसँगै गीत गाईरहेका थिए । कार्यक्रमको अन्त्यमा जेवी टुहुरेले आमा दिदी वहिनी हो गाउँदा धेरै दर्शकहरुले पुराना दिनहरुको सम्झना गरे ।