चलचित्र चिसो एस्ट्रे जेठमा आउँदै 


ब्युटी न्युज नेपाल

काठमाडौं, २४ पुष 

चलचित्र ‘चिसो एस्ट्रे’ आगामी १६ जेठमा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेश गर्ने फिल्मलाई दिनेश पाल्पाली (दिन्श) ले निर्देशन गरेका हुन् । दिन्शले यसअघि ‘बालकृष्ण सम ः अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए जुन काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ)सँगै  थाइल्यान्ड, क्यालीफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भइ विभिन्न अवार्ड जित्न सफल भएको थियो । गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको निर्देशक पाल्पालीले बताएका छन् ।

निर्देशक पाल्पालीले फिल्मले मुख्य चार चरित्रमार्फत् मानिसको अन्तरयात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने जमर्को गरेको बताए । ‘ फिल्मले गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्ने प्रयास गरेका छ,’ दिन्शले भने, ‘तर, आधुनिक बन्ने चक्करमा उसले आफूलाई नै गुमाउन पुग्छ । आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरु यात्रुको कथा नै चिसो एस्ट्रे हो ।’

फिल्ममा दिव्य देवले मदनको रुपमा मुख्य यात्रुको भूमिका निर्वाह गरेका छन् भने सहयात्रीको भूमिकामा छन् निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठ । दिव्य देव नेपाली र अंग्रेजी नाटकका उम्दा कलाकार हुन् भने नविनले राहदानी, कारखाना आदि फिल्ममा काम गरिसकेका छन् । निकुन श्रेष्ठ, छड्के र झिग्रानामा रुचाइएका कलाकार हुन् ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले  प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रबिन स्याङ्बोले सघाएका छन् ।  फिल्ममा दिन्शले लेखनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । फिल्ममा संगीत अजर जंगमको रहेको छ । उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्जवल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् ।

नोबेल फ्रिक्सको पाश्र्व संगीत रहने फिल्ममा कला संग्रौलाको आर्ट डिरेक्सन र फ्रान्सेली प्रडक्सन डिजाइनर सोनिया जोसेरयान्ड मेर्सियरको डिजाइन रहेको छ । फिल्मलाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ भने काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मले केही दिनअघि मात्र फिल्मका मुख्य कलाकारलाई परिचित गराउने उद्देश्यसहित फस्टलुक सार्वजनिक गरिसकेको छ ।