दुई वर्षपछि फर्कियो युहान, फागुनमा साँस्कृतिक फेशन शो


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ पुष

हरेक वर्ष अन्तराष्ट्रिय स्तरको फेशन शो तथा कन्सर्ट आयोजना गर्दै आएको युहान इन्टरनेशलन इभेन्टस् प्रालिले दुई वर्ष यताबाट यस्तो इभेन्ट गरेको थिएन । तर अब भने अन्तराष्ट्रिय स्तरको फेशन शो र कन्सर्ट फेरी आयोजना गर्ने तयारीमा युहान जुटेको छ ।

दुई वर्षपछि युहान पुन इभेन्टसमा फकर्न लागेको हो । यसै क्रममा युहानले अन्तराष्ट्रिय स्तरको सांस्कृतिक फेशन शो आयोजना गर्ने भएको छ । नेपाली मौलिक पहिरनलाई अन्तराष्ट्रिय स्तरमा समेत लोकप्रिय बनाउने उदेश्यले यो फेशन शो आयोजना गरिने र फेशन शोमा बिदेशी सेलिब्रेटीलाई ल्याएर उनीहरुलाई नेपाली मौलिक पहिरनमा सजाएर र्याम्पमा उतर्ने पनि युहानका प्रबन्ध निर्देशक सानु खानले बताएका छन् ।

बिगत दुई वर्ष इभेन्ट नगर्नुको कारणबारे प्रबन्ध निर्देशक खानले ब्युटी न्युज नेपालसँग भने,‘मेरो स्वास्थ्य अबस्था खराब भएको र भारतमा बसेर उपचार गर्नु पर्ने भएकाले दुई वर्ष कार्यक्रम रोकिएको हो । अब अन्तराष्ट्रिय स्तरको इभेन्टस्हरु हामी नियमित रुपमा गर्नेछौं ।’

आगामी फागुनमा आयोजना गरिने अन्तराष्ट्रिय स्तरको फेशन शोबारे प्रबन्ध निर्देशक खानले भने,‘यसमा नेपालका विभिन्न जातजातिहरुको पहिरनलाई आधुनिक स्वरुप दिएर तयार गरिने छ र ती पहिरन नेपाली सेलिब्रेटीसँगै बिदेशी सेलिब्रेटीले लगाएर र्याम्पमा उत्रने छन् । यस्तो फेशनले बिदेशी सेलिब्रेटी मार्फत हाम्रो पहिरन स्वदेशी तथा बिदेशी मिडियामा जानेछ ।’

बिगतमा युहानले अन्तराष्ट्रिय स्तरको इभेन्ट अन्तर्गत नेपाली कलाकारसँगै हलिउड गायक जे सन, बलिउड गायक बादशाह, ब्रिटिस मोडल हेजेल किच, बलिउड अभिनेत्री उर्वसी रौटेला, अली कुली मिर्जालगातयलाई नेपाल ल्याएर नेपाली कलाकार तथा उदयमान मोडलहरुसँग इभेन्टहरु आयोजना गरिसकेको छ ।