ब्युटी न्युज नेपाल
काठमाडौं, ७ पुष

‘छेक्यो, छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले
जाँ गए पनि छाडेन कहिल्यै मायाँको धुईरोले…’

नेपाथ्य व्यान्डका रबीन गुरुङले गाएको चर्चित गीतका गीतकार शुक गुरुङको निधन भएको छ । पोखराको चरक मेमोरियलमा उपचारको क्रममा आइतबार बिहान ५४ वर्षको उमेरमा सुकको निधन भएको हो । उनी लामो समयदेखि मधुमेश सहित मृगौलाको समस्याबाट पीडित थिए ।

अरुण थापाले गाएको ‘दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसू…’, शर्मिला बर्देवा र रवीन श्रेष्ठले गाएको ‘आँखैमा झल्झली हितैको दौतरी …’ , राजु लामाले गाएको ‘भाइटीकामा भेट्न आउँला बिदाइ छ आजलाई…’ जस्ता कैयौं चर्चित गीतका रचनाकार गुरुङको पोखरामा अन्त्यष्टी गरिएको छ । सुकले इसारा भाग १, तिर्सना, निवेदन, सूचना, विरानो मायाजस्ता ११ एल्बम बजारमा ल्याएका थिए । उनले गीत, मुक्तक, कवितासहितको ‘यी मेरा अन्तरवेदनाहरु’ नामक किताब बजारमा ल्याएका थिए ।

नेपाली आधुनिक तथा लोक पप जगतलाई उनले दिएका केही गीत सदावहार रुपमा चलि नै रहेका छन् । तर उनी भने जीवनमा सफलता खोज्दा खोज्दै कहिले दृष्टि गुमाएर संसार नदेख्ने बने त कहिले रोगले थला परे ।

मधुमेहका कारण २०७१ पुस १९ गते अकस्मात ढलेका उनको मधुमेहले ने आँखाको ज्योती लगेको थियो । त्यतिबेला बेहोस भएका उनी १० दिनपछि होसमा आउँदा दृष्टी बिहिन भएका थिए । त्यसपछि मृगौलाको मस्या भोगेका उनी यही समस्याबाट श्रोतबाट सदाका लागि टाढा भएका हुन् ।

यो ६ वर्षसम्म देश बिदेशबाट प्राप्त सहयोगले उनले उपचार गराए । तर उनलाई चिकित्सकहरुले बचाउन सकेनन् । देशविदेश र विभिन्न कार्यक्रमबाट सुक गुरुङका निम्ति झण्डै ५४ लाख रुपैयाँ जम्मा भयो । यो रकमबाट सुकको मिर्गौला प्रत्यारोपणसँगै उपचारका निम्ति खर्च गर्ने अभियान्ताहरुको योजना थियो । तर पत्यारोपण हुन सकेन । सोही पैसाबाट दुई तले घर बनाएपछि उनको परिवार त्यही घरमा बस्दै आएका छन् ।

५४ वर्ष अघि लमजुङमा जन्मेका सुकको केही वर्ष परिवार चितवनमा बित्यो । पछि फेरी उनी परिवारसँगै पोखरा गए । पोखराबाटै उनले सँगीत यात्रा सुरु गरेका थिए । गीत हिट भएपछि काठमाडौं आएका उनले काठमाडौंमा भिडियो सम्पादक भएर जीवन चलाए । केही पैसा कमाएर एल्बमहरु निकाले । तर उनले पैसा बचाउन सकेनन् । अन्त्यमा सहयोगबाट प्राप्त भएको पैसाले पनि उनलाई रोगबाट बचाउन सकेन । गीतकार सुक गुरुङ प्रति व्युटी न्युज नेपाल हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।