रहेनन आनन्द थापा, पशुपतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौं, २ पुष

रिष्ट हास्यव्यँग्य कलाकार आनन्द थापाको ८० वर्षको उमेरमा निधन भएको छ । उनी बिगत दुई वर्षदेखि पक्षघातको समस्याले पीडित थिए । आफ्ना कान्छा छोरासँग भक्तपुरमा बस्दै आएका आनन्द थापाको मँगलबार बेलुका ६ वजे अकस्मात निधन भएको परिवारजनले जानकारी गराएका छन् ।

कलाकार थापाको बुधबार बिहान १० बजेबाट पशुपति आर्यघाटमा श्रद्धाञ्जली कार्यक्रम राखिएको छ । उनको पार्थिव शरीरमा नेपाल चलचित्र कलाकार संघका तर्फबाट पूर्व अध्यक्ष नवल खड्काले संघको झन्डा ओढाएर बुधबार मध्यान्नमा श्रद्धाञ्जली अर्पण गरे । विभिन्न चलचित्रकर्मी तथा शुभचिन्तकले घाट पुगेर उनको पार्थिव शरीरमा श्रद्धासुमन अर्पण गरेका छन् । अहिले १२ः३० बजेबाट उनको अन्त्यस्टी हुँदैछ ।
दिवँगत थापाका चार छोरा मध्य अहिले दुई छोरा र श्रीमती छन् । उनी कान्छा छोरासँग बस्दै आएका थिए । उनका छोरा शिब, शँकर पनि नाटकका कलाकार हुन् ।

८० वर्ष अघि धनकुटाको मुगामा जन्मिएका थापा पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापाको निकट नातेदार थिए । सूर्यबहादुर लगायत आफन्तको प्रेरणाले काठमाडौं आएका उनको सँगत त्यतिबेला कलाकार निर्देशक प्रकाश थापासँग भयो । प्रकाश थापालाई आनन्द थापाले दाई भन्थे । आनन्द थापा २०२०, २२ साल तिरै नाटकमा लोकप्रिय भईसकेका थिए । त्यतिबेला उनी नाटकमा महिलाको भूमिका निर्वाह गर्ने कलाकारका रुपमा समेत लोकप्रिय थिए ।

प्रकाश थापाले नै उनलाई २०२८ सालमा चलचित्र मनको बाँधमा हास्य भूमिका दिएर चलचित्रमा ल्याएका थिए । मनको बाँधबाटै उनी लोकप्रिय भएका थिए । त्यसपछि उनले चार दर्जन भन्दा बढी चलचित्रमा निरन्तर अभिनय गरे । मनको बांध, कुमारी, सिन्दुर, के घर के डेरा, कान्छी, मायाप्रीति जस्ता थुप्रै हिट फिल्ममा उनले हास्यप्रधान भूमिका निर्वाह गरेका थिए । चलिचत्र कान्छीको फरिया भैंमा लतारी…को हास्य नृत्यले उनलाई नृत्यमा समेत लोकप्रिय बनाएको थियो ।

नेपाली नाट्य क्षेत्रका उनी होनहार अभिनेता थिए । उनले २०२० पछि २०५० को दशकसम्म सात दर्जन भन्दाबढी नाटकमा अभिनय गरे । एक समय सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने नाटकहरुमा हास्य भूमिकामा प्राय आनन्द थापा नै हुने गर्दथे । वालकृष्ण समदेखि हरिहर शर्मा सम्मका प्रिय कलाकार आनन्द थापा थिए ।