ब्युटी न्युज नेपाल/सरिता भारती
काठमाडौं, १९ मँसिर

स्वर सम्राट नारायण गोपालको २९ औं स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना गरेर मनाईएको छ । यसै क्रममा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले स्वर सम्राटलाई सम्झँदै बिहिबार उनको स्मृति दिवस मनाएको छ ।

बरिष्ट सँगीतकार शुभ बहादुर सुनामको आतिथ्यमा सम्पन्न सो कार्यक्रममा हाल सांस्कृतिक संस्थानमा गायन सिकिरहेका २६ औं समूहका विधार्थीहरुले स्वर सम्राट नारायण गोपालका गीत गाउँदै उनीप्रति श्रद्धासुमन प्रस्तुत गरे । बाद्यबादकहरु नाचघरका स्वर प्रशिक्षक नरसिंहलाल श्रेष्ठ, खर्क बुढा, नरेश प्रजापति, लोकराज राई, दुर्गाप्रसाद खतिवडा, रोहित सुवेदीले प्रत्यक्ष बादबादनमा साथ दिएका थिए ।
सांस्कृतिक संस्थानका निमित्त महाप्रबन्धक प्रभाकरदेव शर्माको सभापतित्वमा सम्पन्न सो साँगीतिक कार्यक्रममा शोभा गौतमको गायनबाट सुरु भएको थियो । गौतमले कार्यक्रममा तिम्रो जस्तो मुटुु मेरो पनि…प्रस्तुत गरिन् ।

त्यसपछि सो स्मृति साँझको पहिलो चरणमा प्रशिक्षार्थी गायक गायिकहरु पविन पल राईले विरही मायाँ…, लक्ष्मण परियारले यती धेरै मायाँ…, मनिता राईले यति चोको…, इन्द्र भुजेलले यो सम्झने मन छ…, गोपाल आचार्य र भावना राई मोहनी लाग्ला है…गाएका थिए ।

यस्तै दोश्रो चरणमा प्रशिक्षार्थी कलाकारहरु लक्ष्मी श्रेष्ठले कसरी म भुले…, दिनेश लामाले पर्खि बसें…, मनिषा सिग्देलले पोखिएर घामको झुल्का…, रेविना राईले मलाई नसोध…र तुलसा लुँगेली एवँ नाचघरका सँगीत प्रशिक्षक तथा गायक बिपिन घिमिरेले सिरिमा सिरीनी कान्छा…गीत गाएर स्वर सम्राटको सम्झना गरे ।

सो समारोहमा राज्यमन्त्री रामबीर मानन्धरले नारायण गोपालको एउटा गीत केही हरफ सुनाउँदै नवोदिन कलाकारहरुलाई प्रोत्साहन गरे । आफुले यो क्षेत्रमा सक्दो योगदान दिने उनले आश्वासन दिए ।

सो कार्यक्रममा बोल्दै बरिष्ट सँगीतकार शुभबहादुर सुनामले नारायण गोपालसँग बिताएका क्षणहरुको चर्चा गरे । आजकै दिन नारायण गोपालको मलामी जाँदाका पल सम्झँदै त्यसअघि नारायण गोपालसँग विभिन्न सँगीत सृजनामा काम गरेको स्मरण पनि उनले सुनाए । अहिलेको पुस्ताले नारायण गोपालको गीत सँगीतलाई बचाउनु पर्ने सुझाब उनले दिए ।

सांस्कृतिक संस्थानका निमित्त महाप्रबन्धक प्रभाकर देब शर्माले सबैलाई धन्यबाद ज्ञापन गर्दै विधार्थी कलाकारहरुले निकै राम्रो प्रस्तुति दिएको बताए ।

सांस्कृतिक संस्थानका कलाकार एवम् गायक तिर्थराज पोखरेलले सँचालन गरेको सो कार्यक्रममा सांस्कृतिक संस्थानकै कलाकारहरुले प्रत्यक्ष बादबादनमा साथ दिएका थिए ।