ग्लोबल नेपाली अवार्डमा अनमोल र नम्रता बेष्ट


ब्युटी न्युज नेपाल
काठमाडौं १७ मंसिर

चौंथो संस्करणको ग्लोबल नेपाली फिल्म अवार्ड २०१९ अमेरिकाको सान फ्रन्सिस्कोमा सम्पन्न भएको छ । अवार्ड समारोहमा बेस्ट एक्टर अफ दि ईयरको अवार्ड फिल्म क्याप्टेनबाट अनमोल केसीलाई प्रदान गरियो भने बेस्ट एक्ट्रेस अफ दि ईयरको अवार्ड फिल्म प्रसादबाट अभिनेत्री नम्रता श्रेष्ठलाई प्रदान गरियो ।

यस्तै डिरेक्टर अफ दी इअर अवार्ड निर्देशक दीपाश्री निरौलालाई र बेस्ट फिल्म अफ दी इयरको अवार्ड चलचित्र छक्का पन्जा ३ लाई प्रदान गरियो । सपोर्टिङ एक्टर अफ दि इयर आवर्ड फिल्म भैरेबाट बिक्रान्त बस्नेत बस्नेतले पाए भने बेस्ट सिँगर अफ दि ईयरको अवार्ड गायिका अञ्जु पन्तलाई प्रदान गरियो ।

सो समारोहमा फिल्म क्याप्टेनबाट बेस्ट निर्देशकको जुरी अवार्ड दिवाकर भट्टराईलाई प्रदान गरियो । यस्तै अभिनेत्री बर्षा राउत र दीपिका प्रसाईंलाई बेस्ट एक्ट्रेस तर्फको जुरी अवार्ड प्रदान गरियो । निर्देशक सुरज सुब्बा नाल्बो, अभिनेत्री तर्फ पूजा चन्द र नेपाली चलचित्र तर्फ भैरेलाई ग्लोबल नेपाली फिल्म डाएस्पोरा अवार्ड प्रदान गरियो ।

अवार्ड समारोहमा कलाकार, सिनेकर्मी तथा संगीतकर्मीलाई बिशिष्ट योगदानको सम्मान गरिएको छ । कार्यक्रममा चलचित्र शिरोमणी लाइफटाइम एचिभमेन्ट अवार्डबाट बरिष्ट अभिनेता, निर्देशक तथा चलचत्र निर्माता निर शाहलाई सम्मानित गरियो ।

त्यसैगरी लोकनायकको सम्मानबाट शिव श्रेष्ठ, युग नायक सम्मानबाट भुवन केसी, दशकका महानायकको सम्मानबाट राजेश हमाललाई सम्मानित गरियो । सो समारोहमा सङ्गीत महारथी सम्मानबाट सम्भुजीत बास्कोटा सम्मानित गरियो ।

यस्तै श्रीगेहेन्द्र धिमाल स्मृति सम्मानबाट निर्देशक उज्वल घिमिरे सम्मानित भए । रामकेशर बोगटी स्मृति सम्मानबाट नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा अभिनेता रबिन्द्र खड्का सम्मानित भए । समारोहमा अभियानश्री अवार्डबाट कल्पना लिम्बु, दिनेश कार्की, अन्जना गुरुङ र नारायण सोम्नामेलाई सम्मानित गरियो ।

समारोहमा अभिनेता सुशिल क्षत्री, अभिनेत्री श्वेता खड्का, पूजा चन्द, बर्षा राउत, केकी अधिकारी, दीपिका प्रसाईं र स्थानिय कलाकारहरुले बेजोड नृत्य प्रस्तुत गरे । हास्य ब्यङ्ग्यकार सैलेन्द्र सिम्खडाको प्रस्तुतिले कार्यक्रमको रौनक बढाएको ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीका अध्यक्ष नवराज श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठले ग्लोबल नेपाली फिल्म अवार्ड यसपटक अझ भव्य र सफल भएको बताउँदै सबैलाई धन्यबाद ज्ञापन गरे । नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित बरिष्ट सिनेकर्मी निर शाहको नेपाली चलचित्र क्षेत्रमा योगदानबारे चर्चा गरे । अवार्डलाई आगामी बर्षहरुमा अझी भव्यपूर्णसँग आयोजना गर्ने प्रतिबद्धता मल्लले कार्यक्रममा जनाए ।

अवार्ड कार्यक्रमका नेपाल संयोजक, मधु कुमार श्रेष्ठले चौथो ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागी सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।

ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको आयोजना तथा ८८४८ मिडिया हाउस एलएलसी, हिमालयन फाउन्डेसन कर्पको सह आयोजनामा सान फ्रन्सिस्को बे एरियामा सम्पन्न भएको हो ।