बिन्ध्यवासिनी लाईफ टाईम एचिभमेन्ट कुमार बस्नेतलाई


ब्युटी न्युज नेपाल/सरिता भारती
काठमाडौं, १४ मँसिर

तीन दर्जन भन्दा बढी विभिन्न विधामा यो वर्षको विन्ध्यवासिनी अवार्डबाट श्रष्टहरुलाई सम्मानित गरिएको छ । शनिबार काठमाडौंमा आयोजित १० औं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड समारोहमा तीन दर्जन विधामा विन्ध्यवासिनी म्युजिक अवार्ड २०७६ प्रदान गरिएको हो ।

विन्ध्यवासिनी अवार्ड समारोहमा लोक दोहोरी तर्फको अवार्डमा गत वर्षको सर्वाधिक सफल गीत सालको पात टपरी हुने…को बर्चश्व रह्यो । सालको पात टपरी हुने….गीतबाट उत्कृष्ट भाकाको अवार्ड बसन्त थापाले, उत्कृष्ट लोक दोहोरी गायकको अवार्ड कुलेन्द्र बिकले, लोक दोहोरी रचनाको नवराज पन्तले र उत्कृष्ट लोक दोहोरी गीत म्युजिक भिडियो निर्देशकको अवार्ड शिब बिकले हाँसिल गरे ।

शिब हमालको लालु मायाँ…उत्कृष्ट लोक दोहोरी गीत घोषित भयो भने मुखैमा चिनी…गीतबाट सुनिता दुलालले लोक दोहोरी गायिकाको अवार्ड प्राप्त गरिन् । लोक दोहोरी मोडल जोडीको अवार्ड तिम्रो मायाँ….बाट बिमल अधिकारी र सारिका केसी, लोक दोहोरी नव प्रतिभाको अवार्ड सुस्मिता घर्तीमगरले प्राप्त गरे ।

यसरी अवार्ड प्राप्त गर्ने कलाकारहरुमा चलचित्र सँगीत तर्फ चलचित्रको प्रसादको बनकी चरी…गीतबाट सुवास भुसाल, चलचित्र गायकको अवार्ड यही गीतबाट रुपक डोटेल र चलचित्र गायिकाको अवार्ड छक्का पञ्जा ३ को पाहिलो नम्बरमा…बिन्दु परियार थिए ।

विन्ध्यवासिनी अवार्ड समारोहमा पप तर्फ संगीतकारको अवार्ड किन किन…गीतबाट राजेश थापालाई, पप गायकको अवार्ड यो मान्छे…बाट सचिन रौनियारलाई, पप गायिकाको अवार्ड के पो भन्लान…बाट छेनु गुरुङलाई प्रदान गरियो ।

यस्तै सो समारोहमा सुगम सँगीतमा गायकको अवार्ड सुमनकुमार श्रेष्ठलाई, गायिकाको अवार्ड बानिका प्रधानलाई, सुगम सँगीत तर्फ सँगीतकारको अवार्ड सम्झनामा…गीतबाट आशिष अविरललाई, सुगम सँगीत उत्कृष्ट एलबमको अवार्ड ‘तिम्रो साथ’ एल्बमबाट आनन्दराज खनाललाई, सुगम सँगीत गीतकारको अवार्ड गोधुलीमा…बाट दिलिप योञ्जन तामाङलाई प्रदान गरियो ।

यस्तै सुगम सँगीत तर्फ नै पुरुष गीतकारको अवार्ड सुवास सँगम राईलाई, सुगम सँगीत महिला गीतकारको अवार्ड कति लेखें आफ्नै गीत…बाट पद्मा लिँखमगरलाई, युगल गायनको अवार्ड कर्कलो पात…बाट राज खम्बु एवम् मेलिना राईलाई, पप तथा आधुनिक नव प्रतिभाको अवार्ड गल्ती…गीतबाट बिक्रम बराललाई प्रदान गरियो ।

आशिष अविरल

कार्यक्रममा सँगीत सँयोजनको अवार्ड कती लेखेँ आफ्नो गीत….बाट कमल सौरागलाई, राष्ट्रिय भावनाले ओतप्रोत गीतको अवार्ड नालापानी…गीतबाट ऋषी अधिकारीलाई प्रदान गरियो ।

म्युजिक भिडियो तर्फ म्युजिक भिडियो छायाँकारको अवार्ड रित्तो काख…को भिडियोबाट दुर्गा पौलेलले…, म्युजिक भिडियो सम्पादकको अवार्ड नविन घर्तीमगरले हाँसिल गरे । म्युजिक भिडियो तर्फ नै आधुनिक गीत भिडियो निर्देशकको अवार्ड राखीको लागि….बाट क्रान्ति केसीले, आधुनिक गीत भिडियो मोडलको अवार्ड तिम्रो आँसु…गीतबाट सविना कार्की र प्रेमबहादुर खडकाले प्राप्त गरे ।

दर्शकको मतको आधारमा पपुलर तर्फको अवार्ड पान खायो मायाले…गीतबाट मोडल शँकर बिसी र अञ्जली अधिकारीलाई, पब्लिक च्वाईस अवार्ड सो अवार्ड समारोहमा ए प्रिया…बाट मोडल राजन आले र अनु शाहलाई प्रदान गरियो ।
अन्तराष्ट्रिय सँगीत सम्मानबाट अमेरिकामा बस्ने श्रष्टा मनिष बसिष्ठलाई र म्युजिक कम्पनीको अवार्ड प्रियसी म्युजिक कम्पनीलाई प्रदान गरियो ।

कुमार बस्नेतलाई लाईफ टाईम एचिभमेन्ट

सोही समारोहमा बरिष्ट लोक गायक कुमार बस्नेत विन्ध्यवासिनी म्युजिक लाईफ टाईभ एचिभमेन्ट अवार्ड–२०७६ बाट सम्मानित भएका छन् । लोकगायक बस्नेतलाई एक लाख रुपैयाँ सहित ताम्रपत्रबाट यो वर्षको लाईफटाईभ एचिभमेन्ट अवार्डले सम्मानित गरियो ।

गायक कुमार बस्नेत

नेपाली सँगीत क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि निरन्तर योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको आयोजक सँस्था विन्ध्यवासिनी फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीले कार्यक्रममा बताईन् ।

कार्यक्रममा दर्शकको अनुरोधमा गायक कुमार बस्नेतले तरुनी देख्दा नी लोभ लाग्छ…लगायतको गीत गाउँदा दर्शकहरु उठेर नाचेका थिए ।

पत्रकारितामा तीन दशकभन्दा लामो योगदान पुर्याएको भन्दै पत्रकार राजेश खनाललाई २५ हजार रुपैयाँ सहितको विन्ध्यवासिनी सँगीत पत्रकारिता पुरस्कार २०७६बाट पुरस्कृत गरियो ।