छापियो फिल्म लोकेशन गाईड, मन्त्री बाँस्कोटाद्वारा लोकार्पण


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ मँसिर

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र विकास बोर्डद्वारा प्रकाशित ‘फिल्मिङ इन नेपाल, द अल्टिमेट ट्राभल गाईड टु फिल्मस् साईटस्– भोलुम १’ को शुक्रबार चलचित्र विकास बोर्डको हलमा बिमोचन गरे । मन्त्री बाँस्कोटाको रोहबरमा सोही कार्यक्रममा चलचित्र विकास बोर्ड र ब्रिटिश काउन्सिल बीच चलचित्र संग्रहालय तथा अन्य सहकार्यका लागि समझदारी पत्र (एम.ओ.यु.)मा हस्ताक्षर भयो ।

मन्त्री बाँस्कोटाले सो कार्यक्रमलाई सम्बोधन गर्दै इन्डोर सुटिङ स्टुडियोको लागि आफूहरुले काभ्रेमा जग्गा खोजेको जानकारी गराए । उनले नेपाल आफैं फिल्म छायाङ्कनको लागि प्राकृतिक स्टुडियो भएको जिकिर गरे । मन्त्री बासकोटाले यो पुस्तकले नेपालको सुन्दर बारे देश विदेशमा जानकारी गराउने विश्वास लिएको छु भने । विदेशीहरुलाई नेपालको सुन्दरता र यहाँ छायाङ्कन गर्ने सुविधा बारे जानकारी गराउन हरेक देशमा भएका नेपाली कुटनीतिक नियोग मार्फत् यो पुस्तक ती देशका सिनेकर्मीको हातमा पुर्याउन पनि उनले चलचित्र विकाश बोर्डले निर्देशन दिए । पुस्तकमा भएका तस्बिर र सूचनाहरु वेवसाईट बनाएर राख्न पनि उनले सुझाव दिए ।

मन्त्री बाँस्कोटाले नेपाल राजनीतिक, साँस्कृतिक, भौगोलिक रुपले अहिले विश्वमा चिनिएको भए पनि अब सिनेमा मार्फत् नेपाललाई विश्वसामू चिनाउने सरकारको लक्ष्य रहेको बताए । सोही कारण विश्वका सिनेकर्मीलाई नेपालमा छायाङ्कनको लागि आकर्षण गर्न भिजुअल पुस्तक सहित विभिन्न योजनाहरु चलचित्र विकास बोर्ड मार्फत् अघि सारिएको पनि सूचना मन्त्री बाँस्कोटाले जानकारी गराए ।

चलचित्र ऐन अहिले मन्त्रालयबाट क्याविनेटमा आफूले पठाएको जानकारी गराउँदै अब यो कानून मन्त्रालयमा जाने र त्यसपछि संसद हुँदै चाँडै पारित भएर आउने पनि मन्त्री बाँस्कोटाले बताए । बालाजुको एनएफडिसीको जग्गा फिर्ता लिन आफुहरुको कानूनी पहल गर्ने उनले चेतावनी दिए । चलचित्र विकास बोर्ड र ब्रिटिश काउन्सिलबीच भएको यो हस्ताक्षरले नेपाली चलचित्र उधोगलाई धेरै फाईदा पुग्ने विश्वास आफूले लिएको मन्त्री बाँस्कोटाले बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाललाई ‘विश्वका सिनेकर्मीको सुटिङ डेस्टिनेशन’को रुपमा विकास गर्ने सरकारी योजना अनुसार निकै छोटो समयमा यो पुस्तक तयार गरेर ल्याएको हो भने । नेपालका छायाङ्कनस्थलको बारेमा पूर्ण जानकारी सहितको वेवसाईट अब आफूहरुले चाँडै नै सार्वजनिक गर्ने उनले बताए । लोकेशन गाईडको भिडियो बुक पनि तयारी गर्ने कार्य भईरहेको अध्यक्ष भट्टराईले कार्यक्रममा जानकारी गराए ।

भिडियो बुकको लागि नेपालका सुन्दरस्थलको छायाङ्कन गर्न केही कम्पनीसँग सम्झौताको कानूनी प्रक्रिया सुरु भईसकेको उनले बताए । चलचित्र विकास बोर्डका सदस्य सचिव महेन्द्रप्रसाद साँखीको स्वागत मन्तव्यबाट सुरु भएको सो कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य तथा लोकेशन गाईड प्रकाशन समितिका संयोजक दयाराम दाहालले फिल्म लोकेशन गाईड पुस्तक बारे जानकारी गराए । करिब २२० पृष्ठको यो पुस्तक आफूहरुले निकै छोटो समयमा तयार धेरै भन्दा धेरै कुरालाई यसमा समेट्ने कोशिश गरेको उनले बताए । यो पुस्तकको अरु श्रृंखलाहरु पनि क्रमशः प्रकाशन गर्दै जाने पनि बोर्ड सदस्य दाहालले जानकारी गराए । यो पुस्तकले नेपालको कुन ठाउँमा कस्ता दृश्य र सेवा छन्, त्यहाँ गएर कसरी छायाङ्कन गर्ने भन्ने सबै जानकारी दिने पनि दाहालले कार्यक्रममा प्रकाश पारे ।

मन्त्री बाँस्कोटाको रोहबरमा सोही कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र ब्रिटिश काउन्सिल नेपालका कन्ट्री डिरेक्टर डा. जोभन ल्लिकबीच ‘चलचित्र संग्रहालय तथा अन्य सहकार्य’का लागि समझदारी पत्रमा हस्ताक्षर भयो । सो हस्ताक्षर नेपाली चलचित्र उधोगको लागि एउटा राम्रो कार्यको सुरुवात भएको बोर्ड अध्यक्ष भट्टराईले बताए । ेलायती सरकारको सहयोगमा बोर्डले चलचित्रको संरक्षणमा धेरै कार्यहरु गर्ने विश्वास उनले कार्यक्रममा व्यक्त गरे ।

सो कार्यक्रममा बोल्दै डिरेक्टर डा. जोभनले चलचित्र विकास बोर्डसँग भएका पुराना सिनेमाहरुलाई आफुहरुले डिजिटाइज गर्ने, बोर्डको सिनेमा संग्रहालयको लागि भवन बनाउने, संग्रहालय स्थापना गर्ने, बोर्ड मार्फत् विद्यार्थीहरुलाई सिनेमाको शिक्षा तथा प्रशिक्षण दिने, सिनेमाको नयाँ करिकोलम बनाउन विज्ञहरु उपलब्ध गराउने, बाल चलचित्र महोत्सब गर्ने जस्ता विभिन्न योजनाहरुमा आफूहरुले काम गर्ने जानकारी गराए ।

सो कार्यक्रममा बरिष्ट चलचित्र निर्देशक यादब खरेल, नेपाल चलचित्र संघका कार्यवाहक अध्यक्ष बीरेन्द्र नारायण श्रेष्ठलगायत अतिथि थिए । चलचित्र निर्देशक दिनेश डिसीले कार्यक्रमको सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।