आस्थाको साँगीतिक आधार २


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ मंसिर

अघिल्लो गीतिसँग्रह ‘आधार’ को सफलता र चर्चापछि गायिका आस्था राउतको दोस्रो गीतिसँग्रह ‘आधार भाग २’ श्रोतामाझ ल्याएकी छिन् ।

बिहीबार काठमाडौंमा एक समारोहबीच हास्यब्यँग्य अभिनेता जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य(मह), संगीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बाबु हरिबहादुर राउत र आमा साबित्री राउतलगायतले आधार भाग २ को सँयुक्त बिमोचन गरे । यो गीतिसँग्रहलाई म्यूजिक नेपालले बजारमा विक्रिवितरण गरेको हो ।

कार्यक्रममा बोल्दै हास्यब्यँग्य अभिनेता मदनकृष्णले कम उमेरमै आस्थाले नेपाली सांगीतिक क्षेत्रमा गरेको प्रगति देखेर आफूलाई खुशी लागेको बताए, ‘सांगीतिक वातावरणमा जन्मेर, हुर्केर होला, आस्थामा गायकीको नयाँ फ्लेभर पाउँछौं ।’,

अर्का हास्यब्यँग्य अभिनेता हरिवंश आचार्यले आस्थासँग आफूले चलचित्र ‘छक्का पन्जा २’को एक गीत झ्याम्म झ्याम्म…मा सहकार्य गर्दाको स्मरण सुनाउँदै आस्थाको स्वर भिन्न रहेको दाबी गरे । ‘जो कोहीको गीत सुनिरहँदा त्यो गीत सोही गायक गायिकाको हो कि होइन भन्ने अन्यौल हुन्छ । किनकी त्यस्तै किसिमको स्वर अन्य गायकगायिकाको पनि हुन्छ,’हरिवंशले भने, ‘तर आस्थाको स्वर सुन्दा उनको जस्तो स्वर अरुमा पाइँदैन । त्यसकारण परबाटै यो गीत आस्थाले नै गाएको हो भन्नेमा ढुक्क भईन्छ ।’

आस्थाका सांगीतिक गुरु संगीतकार सुरेश अधिकारीले आस्था जस्तो सुकै फ्लेभरको गीत पनि गाउन सक्ने प्रतिभाशाली गायिका भएको बताए ।

आस्थाका पिता हरिबहादुरले आफूलाई आस्थाको पिता भनेर चिनाउन पाउँदा खुशी लाग्ने बताए ।

आधार भाग २ भित्र ‘दशै आयो तिहार आयो…’, ‘कलधारा…’, ‘हवाइजहाजको टिकट…’, ‘सिमाना…’, ‘राम साइली…’, ‘नाकैमा फूली…’, ‘को छ यहाँ र झलझल गर्ने…’ बोलका गीतहरु छन् ।

यी गीतमध्ये को छ यहाँ…गीतमा आस्थाकी आमा साबित्री राउतको शब्द रहेको छ । बाँकी ७ वटा गीतमा सुरेश अधिकारीको शब्द र संगीत छ ।

बिमोचन समारोहमै ‘नाकैमा फूली…’ गीतको भिडियो पनि सार्वजनिक गरियो । शान थापाले निर्देशन गरेको भिडियोमा आँचल शर्मा र महेश खड्काको अभिनय छ ।

भिडियोमा सुप्रिम पराजुलीको सम्पादन, अनिल के मानन्धरको छायांकन छ । आधार भाग २ मा रहेका गीतमध्ये दशै आयो तिहार आयो…गीतको म्यूजिक भिडियो विभिन्न युट्युब च्यानलमा सुन्न र हेर्न सकिन्छ ।

आस्था हाल टेलिभिजन गायन रियालिटी शो ‘दी भ्वाईस अफ नेपाल’ सिजन २ को एक कोच पनि हुन् । उनको अघिल्लो गीतिसँग्रह ‘आधार’ का गीतहरू ‘खै त मलाई झुम्के बुलाकी…’, ‘चौबन्दी पटुकी..’ चर्चित गीत हुन् ।