ब्युटी न्युज नेपाल
काठमाडौं, १० मँसिर

अभिनेता सौगात मल्लले आफु र आफ्नी प्रेमिका सृष्टी श्रेष्ठलाई परिवारबाट विवाहको दवाव आएका बताएका छन् । सौगातको नयाँ फिल्म माछा माछा यही २० मँसिरबाट रिलिज हुँदैछ ।

आफ्नो नयाँ चलचित्र माछा माछाको पत्रकार भेटघाटका क्रममा सौगातले आफु र श्रृष्टीलाई श्रृष्टीको बुबा आमाबाटै विवाहको दवाव आएको बताएका छन् । दशैं अघि लन्डन गएर डेढ महिना श्रृष्टीको घरमा बसेका सौगातले विवाहको बारेमा पत्रकारसँग यसो भने,‘सृष्टिको बुबा आमाले हामीलाई विवाह गर्न पोहोर नै कर गर्नु भएको हो । हामीले तत्काल विवाह नगर्ने बताएपछि आफ्नै हिसाबले गर्नु भनेर सल्लाह दिनु भएको छु ।’

आफुहरुले ढिलो चाँढो विवाह गर्ने बताउँदै अभिनेता सौगातले विवाहकोबारे धेरै चिन्ता नलिन सञ्चारकर्मीलाई आग्रह गरे । एक दुई वर्षमा आफुहरुको विवाह हुने पनि उनले जानकारी गराए ।

पछिल्लो समय सौगातले चलचित्रको गुणस्तरमा भन्दा सँख्यालाई बढी महत्व दिएका छन् । यो कुरा उनले पनि स्वीकारेका छन् । आफ्नो नयाँ फिल्म माछा माछामा रमाईलो भूमिका भएको उनले बताए । आफुलाई दिएको भूमिकालाई सक्दो राम्रो गर्ने प्रयास आफुले चलचित्र माछा माछामा गरेको यी अभिनेताले जिकिर गरे ।

यतीबेला निरन्तर धेरै फिल्म खेल्नुको कारण गत वर्ष नौ महिनासम्म काम नगरी बसेको र त्यो समयको क्षतीपूर्ति स्वरुप पनि आफुले अहिले लगातार चलचित्रमा काम गरेको बताए । सुरुका दिनमा आफ्नो फिल्म असफल हुँदा दुःख लाग्ने गरे पनि आजकाल बानी परेको पनि यी नायकले जिकिर गरे ।