मह, नीर, बिजय र लक्ष्मण सम्मानित, डेढ दर्जनलाई सूर्य अवार्ड


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ मँसिर

जापानमा दोस्रो ‘सूर्य इन्टरनेसनल अवार्ड–२०१९’ आयोजना गरिएको छ । जापानको टोकियो स्थित नाकानो जिरो हलमा आइतबार राती यो अवार्ड प्रदान गरिएको हो ।

सूर्य कर्पोरेशनले आयोजना गरेको यो समारोहमा प्रतिस्पर्धा मुलक विधामा १२ ओटा अवार्ड प्रदान गरिएको छ । जसमा ६ ओटा चलचित्र विधाबाट र ६ ओटा गीतसँगीत विधाबाट रहेको छ । यी सबै अवार्ड गुणस्तर भन्दा पनि लोकप्रियताको हिसाबले (पपुलर अवार्ड) प्रदान गरिएको हो ।

जसमा चलचित्र अवार्ड छक्का पान्जा ३ लाई, निर्देशक अवार्ड छक्का पञ्जा ३ बाटै दीपा श्री निरौलालाई प्रदान गरिएको छ ।

अभिनय तर्फ अभिनेताको अवार्ड चलचित्र क्याप्टेनबाट अनमोल केसीलाई, अभिनेत्रीको अवार्ड कायराबाट साम्राज्ञी राज्यलक्ष्मी शाहलाई, सह अभिनेता अवार्ड चलचित्र चंगा चेटबाट बुद्धि तामाङलाई र सह अभिनेत्रीको अवार्ड चलचित्र गोपीबाट बर्षा राउतलाई प्रदान गरियो ।

चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न सो अवार्ड समारोहमा गीत सँगीततर्फ आधुनिक गीतको अवार्ड दर्शन नमस्ते भाग ५बाट राजेश पायल राईलाई, आधुनिक गायिकाको अवार्ड पिरिम नलाउने…बाट मेलिना राईलाई प्रदान गरियो । पप विधामा गायकको संजय पराजुली र गायिकाको अवार्ड टिका प्रसाईंलाई कर्के नजर…बाट प्रदान गरियो । लोक गायन विधामा सालको पात….बाट कुलेंद्र बिक र गायिका मन्जु पौडेललाई उनको गीतबाट प्रदान गरियो ।

पपुलर अवार्डको मनोनयनमा परेका केही फिल्म र सिनेकर्मीलाई क्रिटिक्स अवार्ड प्रदान गरियो । क्रिटिक्स अवार्ड चलचित्र तर्फ प्रसादलाई, अभिनेतातर्फ बिपिन कार्कीलाई, अभिनेत्रीतर्फ नम्रता श्रेष्ठलाई प्रसादबाटै प्रदान गरियो । निर्देशकको क्रिटिक्स अवार्ड चलचित्र गोपीबाट दिपेन्द्र लामालाई प्रदान गरियो ।

मह, नीर, विजय र लक्ष्मण सम्मानित

सो समारोहमा हाँस्यब्यँग्य अभिनेताद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई ‘सूर्य रत्न सम्मान’ प्रदान गरियो । यस्तै वरिष्ठ अभिनेता एवम् गीतकार निर विक्रम शाहलाई ‘ सूर्य लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरियो । कलाकार तथा विमान चालक विजय लामालाई ‘सूर्य कलाकारिता सम्मान’ प्रदान गरियो ।

पत्रकार लक्ष्मण सुवेदीलाई दुई दशक लामो पत्रकारिता योगदानका लागि २५ हजार येन सहित ‘सूर्य पत्रकारिता पुरस्कार–२०१९’ प्रदान गरियो ।

अवार्डको लागि नेपालबाट करिब ४० जना कलाकार तथा आयोकज पक्ष जापान गएका छन् । कार्यक्रमको आयोजना बासुदेब लामिछानेले गरेका हुन् ।

तस्बिर : मेरो फिल्मको फेसबुक पेजबाट