ब्युटी न्युज नेपाल
काठमाडौं, ९ मँसिर

यतीबेला राष्ट्रभक्त नेपालीको चिन्ता भारतले अतिक्रम गरेको कालापानी, लिपु लेख, लिम्पियाधुरा लगायततर्फ छ । यसै क्रममा राष्ट्रभक्त सर्जकहरुले यसै विषयमा सँगीत सृजना गरिरहेका छन् ।

नसोध है यी आँखाबाट कति चोटी बग्यो पानी
पैले नालापानी बग्यो, ऐले फेरि कालापानी…..

केहीबर्ष अघि संचारकर्मी पारस प्रकाश नेपालले कालापानीको विषय समेटेर राष्ट्रिय भावको गीत ‘नसोध है यी आँखाबाट…’ ल्याएका थिए । यसपटक कवि तथा संचारकर्मी फूलमान वलसँग सहकार्य गरि उनले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘तिमीले टेक्ने माटो उही…’ बोलेको गीत वलले लेखेका हुन् भने नेपालले स्वर दिएका छन् । संगीत भने जुगल डंगोलको रहेको छ । यो गीतले पनि अहिलेको अबस्थामा नेपालीहरुमा राष्ट्रिय भावना जागृत गराउँछ ।

केही दिन अघि मात्रै युट्युबमार्फत गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । राष्ट्रिय भावको गीतले सबै नेपाली आ–आफ्नो पहिचानसहित एकताबद्ध हुनुपर्छ भन्ने सन्देश दिएको छ । ‘मुलुक सम्मृद्धितिर गइरहेको बेला यो गीतले सदभाव र एकताको वकालत गर्छ’, गायक नेपालले भने, ‘छिमेकको मिचाहा प्रवृत्तिले गर्दा पनि यो गीत यतिबेला थप अर्थपुर्ण बनेको छ ।’

संगीतकार जुगल डंगोलले गीत समसामयिक राष्ट्रिय भावना समेटिएको दावी गरे । डंगोलसित गायक नेपाल र गीतकार बलले अरु गीतमा पनि सहकार्य गरेका छन् । यसअघि वलकै ‘म फूल हुँ…’ गीतमा डंगोलले संगीत दिएका छन् भने नेपालका आधा दर्जन गायनमा डंगोलले सांगीतिक सहकार्य गरेका छन् ।