ब्युटी न्युज नेपाल

काठमाडौं, ३० कात्तिक 

अभिनेता अनमोल केसी नयाँ फिल्म ‘ए मेरो हजुर–४’मा अनुबन्धित भएका छन् । आफूले गत साल अभिनय गरेको सफल फिल्म ‘ए मेरो हजुर–३’ पछि यही शृंखलाको अर्को फिल्म ‘ए मेरो हजुर–४’मा अनमोल अनुबन्धित भएका हुन् ।

यो फिल्ममा पनि ‘ए मेरो हजुर ३’ कै जोडी अनमोल केसी र सुहाना थापाले मुख्य भूमिका निर्वाह गर्नेछन् । यो फिल्मका निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापाले अनमोल केसीलाई ‘ए मेरो हजुर ४’ का लागि शनिबार अनुबन्धित गरेका हुन् ।

यो चलचित्रकी निर्देशक झरना थापाका अनुसार अनुसार ‘ए मेरो हजुर ४’को स्कृप्ट अनमोललाई मन परेपछि उनी यो फिल्ममा अनुबन्धित भएका हुन् ।

यो फिल्ममा अहिलेसम्म अनमोल केसी, सुहाना थापामात्र अनुबन्धित भएको निर्माण पक्षले जनाएको छ । अब संगीत सिर्जना, बाँकी कलाकार र प्राविधिक चयनलगायतको कार्यमा निर्माण पक्ष जुट्नेछ । चलचित्रको छायांकन आगामी २० माघबाट सुरु हुने झरनाले बताईन् । यो फिल्मको छायांकन नेपालसँगै हल्यान्ड र ओमनमा गरिने पनि निर्देशक झरनाले जानकारी गराएकी छिन् ।

 गत चैत २९ मा रिलिज भएको अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ३’ ले राम्रो व्यापार गरेपछि अनमोल ‘ए मेरो हजुर ४’मा खेल्न तयार भएका हुन् । उनले यो फिल्मबाट कति पारिश्रमिक लिए भन्ने बारे निर्माण पक्षले खुलाउन मानेनन् । ‘ए मेरो हजुर ४’को स्कृप्ट तयारी अन्तिम चरणमा पुगेको छ ।