कालीप्रसाद र सन्तोषको उदास जवानी


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० कात्तिक

वरिष्ठ गीतकार कालीप्रसाद रिजाल र संगीतकार सन्तोष श्रेष्ठको आधुनिक गीतिसंग्रह ‘उदास जवानी’ बजारमा आएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा ‘उदास जवानी’ विमोचन गरियो ।

यो गीतिसँग्रहको श्रष्टा गीतकार कालीप्रसाद रिजाल सहित वरिष्ठ संगीतकार दीपक जंगम, वरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेल, वरिष्ठ साहित्यकार तुलसी दिवस र संगीतकार सन्तोष श्रेष्ठले संयुक्त बिमोचन गरे ।

कार्यक्रममा बोल्दै दीपक जंगमले ‘उदास जवानी’लाई महत्वपूर्ण कीर्तिका रुपमा आफूले लिएको बताए । वरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेलले कालीप्रसाद रिजाल आफैमा राम्रो गीतकार रहेको भन्दै ‘उदास जवानी’मा रहेका गीतहरू उत्कृष्ठ भएको बताए ।

वरिष्ठ कवि एवम् संस्कृतिविद् तुलसी दिवसले ‘उदास जवानी’लाई नेपाली आधुनिक संगीतको क्षेत्रमा राम्रो कीर्ति आएको बताए । ‘यी आधुनिक गीतहरूसँगै भिडियोले झन् निखार ल्याएको छ’, उनले भनेका छन् ।

‘एक्लो उदास जवानी’ र ‘मै छोरीलाई नै गर्भमा नै‘’लाई कार्यक्रममा देखाइएको थियो । यी दुबै गीतको म्युजिक भिडियोको निर्देशन हेम प्रभासले गरेका हुन् । छायांकन र सम्पादन वीरेन्द्र भाट ‘विपिन’ले गरेका छन् ।

‘एक्लो उदास जवानी…’मा मनोज राजले स्वर दिएका छन् । म्युजिक भिडियोमा अभिनेता मोहन निरौला र उषा खनालले अभिनय गरेका छन् ।

‘मै छोरीलाई गर्भमा नै…’मा निशा देशारको स्वर रहेको छ । श्रीजना श्रेष्ठ, सफलता श्रेष्ठ, नारायणी उप्रेती, प्रदीप रिजाल र लक्ष्मी रिजालले अभिनय गरेका छन् ।

एल्वममा पाँच वटा गीत समावेश छन् । शिशिर योगी, मनोज राज, निशा देशार, राज सागर, रीता केसी र साहिमा श्रेष्ठले स्वर दिएका छन् ।

एल्वममा ‘एक्लो उदास जवानी…’, ‘मै छोरीलाई गर्भमा नै…’, ‘बाँच्दै नबाँचे पनि…’, ‘मिसिएर दुइटा खोला…’ र ‘सामुन्नेमा उसलाई देख्दा…’ राखिएको छ ।

एल्वममा समावेश पाँच गीतमध्ये ‘एक्लो उदास जवानी…’ र ‘मै छोरीलाई नै…’ गीतको म्युजिक भिडियो कार्यक्रममा प्रदर्शन गरिएको थियो । ‘उदास जवानी…’ सन्तोष श्रेष्ठद्वारा संगीतबद्ध ३२ औं एल्बम हो ।

संगीतकार श्रेष्ठ भन्छन, ‘मेरो सबैभन्दा ठूलो उपलब्धी त दर्शक स्रोताको माया हो, त्यससँगै राष्ट्रकवि र शताब्दी पुरुषसँग काम गर्न पाउनुलाई जीवनको महत्वपूर्ण उपलब्धी ठान्छु ।’