ब्युटी न्युज नेपाल
काठमाडौं, ३० कात्तिक

अभिनेत्री मिरुना मगर यतीबेला आफ्नो नयाँ फिल्म ‘च च हुई’को प्रचार प्रसारमा सकृय छिन् । यो फिल्मको रिलिज यही ६ मँसिरबाट देशव्यापी रुपमा सिनेमा हलमा हुँदैछ । यो साता नेपाली चलचित्रको बजार फेरी सुस्ताएको बेला अभिनेत्री मिरुनाले च च हुईप्रति सफलताको निकै आशा गरेकी छिन् ।

मिरुनाले यस अघि लालपूर्जा, रोज, साईनो जस्ता चलचित्रमा मुख्य भूमिका निर्वाह गरिसकेकी छिन् । रिलिज हिसाबले उनको यो चौथो फिल्म हो । यो चलचित्रमा आफु केही फरक भूमिकामा भएको यी अभिनेत्रीले बताएकी छिन् । यसमा आफुपनि हास्यप्रधान भूमिकामा भएको मिरुनाको कथन छ ।

‘बिगतका चलचित्रमा मैले आफ्नो हिसाबले पूर्ण मेहनत गरेको हुँ । तैपनि भनेको जस्तो रिजल्ट आएन, तर यसपटक भने चलचित्र च च हुई सफल हुनेमा म विश्वस्त छु ।’ अभिनेत्री मिरुनाले भनिन्,‘यो चलचित्रमा आर्यन दाई र मैले बिगतका सिनेमाको भन्दा केहीफरक काम गरेका छौं । हाम्रो भूमिका दर्शकलाई रमाईलो लाग्ने छ ।’

सम्तेन भुटियाको निर्देशन रहेको चलचित्र च च हुई मुस्ताङ क्षेत्रमा छायाँकन गरिएको फिल्म हो । यो फिल्मको कथा आफ्नो वरिपरी पनि केही मात्रामा घुम्ने अभिनेत्री मिरुनाले बताईन् । चलचित्रमा आफुहरुले पूर्ण मेहनत गरेको र फिल्म हास्यप्रधानसँगै रमाईलो प्रेमकथामा आधारित भएका कारण च च हुईबाट आफुहरु सफल हुने यी अभिनेत्रीले जिकिर गरिन् ।