ब्युटी न्युज नेपाल
काठमाडौं, २९ कात्तिक

यही २७ मँसिरमा रिलिज हुने भनिएको नेपालीचलचित्र ‘१२ सत्ताइस’ को ट्रेलर आएको छ । यो फिल्मको ट्रेलर राजधानीस्थित बिग मुभिजमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको थियो ।

यो फिल्मको ट्रेलर निकै रमाईलो छ । तीन बेरोजगार युवाहरुले प्रहरी चौकीबाटै पैसा लुटेपछि उनीहरुले त्यो पैसा आफ्नो बनाउन गर्नु परेको भागदौडलाई यो फिल्मको ट्रेलरमा देखाईएको छ ।

यो लाइट कमेडी जनरामा निर्माण भएको फिल्म हो । सार्वजनिक ट्रेलरमा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाउँन खोजिएको छ । फिल्ममा बेरोजगारहरुले पैसा कमाउने गलत उपायसम्बन्धि कथा प्रस्तुत गरिएको छ ।

ट्रेलर निकै रमाईलो भए पनि यसले आकर्षक भ्युज युट्युवमा पाउन सकेको छैन । यो फिल्मको ट्रेलरमा रिलिज भएको तीन दिनमा जम्मा ६० हजार भ्युज युट्युवमा पाएको छ ।

जोन योञ्जनले निर्दे्शित फिल्ममा नयाँ अनुहारको बाहुल्यता छ । यसमा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, अभोन राज लगायत कलाकारको अभिनय रहेको छ । फिल्मको कथा निर्देशक जोनले नै तयार पारेका हुन् । अनिश श्याङदेनले छायांकन गरेको फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका छन् ।

ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस सिनेमालाई रेणु राना, दिपक खातिवडा र रुपक थापाले निर्माण गरेका छन । चलचित्रका सह निर्माताको रुपमा गौतम शाहाको लगानी छ ।