अब आर्यनले लभ स्टोरी फिल्म मात्र खेल्ने


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ कात्तिक

अभिनेता आर्यन सिग्देलले अब लभ स्टोरी फिल्मलाई मात्र महत्व दिने भएका छन् । उनको नयाँ फिल्म च च हुई यही ६ मँसिरबाट देशव्यापी रुपमा रिलिज हुँदैछ । यही फिल्मको प्रचार प्रसारमा व्यस्त रहेको अभिनेता सिग्देलले ब्युटी न्युज नेपालसँगको भेटघाटमा अब आफुले लब स्टोरी फिल्म मात्र खेल्ने बताएका छन् ।

किन लभ स्टोरी फिल्म मात्र खेल्ने त भन्ने हाम्रो जिज्ञासामा यी अभिनेताले भने,‘मैले एक्सन फिल्म, थ्रिलर फिल्म, हरर फिल्म, सोसियल फिल्म पनि गरेँ । मैले अभिनय गरेका यी कुनै जनराको फिल्म राम्ररी चलेनन् ।’

अभिनेता आर्यनले अगाडि थपे,‘मैले अभिनय गरेका हरेक लभस्टोरी फिल्म सफल भए । सोही कारण म अब लभस्टोरी फिल्म मै काम गर्न चाहन्छु । दर्शकले मलाई लभ स्टोरीमै हेर्न चाहनुहुन्छ भने मैले अरु जनराको फिल्म खेल्नु मेरैलागि जोखिम हो ।’

आफ्नो रिलिज हुन लागेको फिल्म च च हुई पनि लभ स्टोरी नै भएको उनले खुलाएका छ । यो फिल्म कमेडीसँग ग्लसी लभस्टोरी सिनेमा भएको यी अभिनेताको कथन छ । यो फिल्मबारे अभिनेता आर्यनले भने,‘चलचित्र च च हुई लभ स्टोरीसँगै कमेडी जनराको हो । मैले यस्तो कमेडी जनराको फिल्ममा यसअघि काम गरेको थिईँन् र करिब ३० ओटा फिल्ममा काम गर्ने क्रममा यसपटक पूर्ण हास्य भूमिकामा छु ।’ यो स्लाप स्टिक नभएर सिच्वेस्नल कमेडी भएकाले दर्शकले च च हुईबाट पूर्ण मनोरञ्जन लिने पनि अभिनेता आर्यनले दाबी गरेका छन् ।