अदालतको आदेशसँगै पक्राउन गर्न प्रहरीद्धारा शिल्पाको खोजी


ब्युजी न्युज नेपाल
काठमाडौं, २६ कात्तिक

अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न मँगलबारबाट प्रहरीले खोजी सुरु गरेको छ । शिल्पासँगै उनका पति एवम् बरिष्ट निर्माता छबिराज ओझालाई पनि पक्राउको लागि मँगलबारबाट प्रहरीले तिब्र खोजी सुरु गरेको हो ।

यस अघि प्रहरीलाई पक्राउको अनुमति दिएको काठमाडौं जिल्ला अदातलतबाटै यसपटक पक्राउ पूर्जी जारी गरिएको छ । अभिनेत्री शिल्पालाई पक्राउ नगर्नु भन्ने सर्वोच्च अदालतको यस अघिका आदेशका कारण उनलाई पक्राउ गर्न प्रहरीलाई समस्या परेको थियो । तर चलचित्र निर्माता छबिराज ओझासँग विवाह गरेर बहुविवाहको मुद्दा खेपिरहेकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ नगर्नु भन्ने सर्वोच्चको आदेश यतीबेला खारेज भएको छ ।

शिल्पा पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध दायर गरेको रिट निवेदन खारेज गर्ने आदेश न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले मँगलबार दिएको हो ।

काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार पक्राउ पुर्जी कार्यान्वयन नगर्न अन्तरिम आदेश प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले साउनको अन्तिम साता जारी गरेको थियो । शिल्पा बिरुद्धको आजका आदेशपछि यी अभिनेत्रीलाई कुनै पनि बेला पक्राउ गर्न बाटो खुलेको हो ।

नायिका शिल्पा पोखरेलले जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पाटनमा दायर गरेको रिट निवेदनमा जिल्लाको सदर गरेपछि सर्वोेच्च अदालतमा वारेसमार्फत रिट निवेदन दर्ता गरेकी थिइन् । सो निवेदन आज खारेज भएको छ । शिल्पाको रिट निवेदनसँगै सो अन्तरिम आदेश पनि मँगलबार नै खारेज भएको हो ।

छबि ओझाको जेठी पत्नी हेमा ओझाको मुद्दा हेरिरहेका अधिवक्ता स्वागत नेपालका अनुसार बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई सर्वोच्च अदालतको यो आदेशपछि पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ । अब छबि र शिल्पा कुनै पनि दिन पक्राउ पर्ने देखिन्छ ।

बहुविवाहको मुद्दामा काठमाडौं जिल्ला अदालतले छबिराज र उनकी कान्छी श्रीमती भनिएकी शिल्पा पोखरेललाई पक्राउ पुजी जारी गरेकाले अब छबि र शिल्पाले सोझै अदालतमा हाजिर भएर पक्राउ दिन सक्ने तथा प्रहरीसामु आफुलाई समर्पण गर्ने बाहेक अरु बिकल्प नरहेको पनि अधिवक्ताको सुझाब छ ।

त्यसपछि अभिनेत्री शिल्पाले सम्बन्ध विच्छेद र अँश मुद्दा गत असारमै जिल्ला अदालत काठमाडौंमा हालेकी थिईन् । आफ्नो पति छबिराज ओझाले घरेलु हिँसा गरेको भन्दै न्यायको माग सहित अभिनेत्री शिल्पाले गत असारमा प्रहरीमा उजुरी दिएपछि यी दुईको विवादले चरम रुप लिएको हो । त्यसपछि यी दुई बिरुद्ध हेमाले बहुविवाहको उजुरी प्रहरीमा दिएकी हुन् ।