उपाध्यायको फेरी सात एल्बम


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ कात्तिक

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको पुनः ७ गीतिसँग्रह एकसाथ सार्वजनिक भएको छ । उपाध्यायले गत वर्ष मंसिरमा एकसाथ ७ वटा गीतिसँग्रह सार्वजनिक गरेर विश्व रेकर्ड राखेका थिए ।

काठमाडौंमा रसियन साँस्कृतिक केन्द्रमा सोमबार एक विशेष कार्यक्रमबीच डा. डीआर उपाध्यायका सात गीति एल्बम ‘अन्जान तिर्खा’, ‘सुधारस’, स्वर्गघर, ‘नजरको तीर’, ‘सेभेन्थ कड्स’, ‘सौभाग्यको सिन्दुर’ र ‘अनुभुतिको मझेरीमा’ सार्वजनिक गरिएको हो ।कार्यक्रममा बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले डा. उपाध्यायका सात गीति एल्बम, एक उपन्यास ‘सपनाकी रानी’ र आठ उपन्यास संगालो सार्वजनिक गरेका हुन् । शताब्दी पुरुषलाई ५१ हजार नगद सहित दोसल्ला र ताम्रपत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।

यसअघि कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे र बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको हातबाट एल्बम सार्वजनिक गरिने भनिए पनि राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थताका कारण उपस्थिति हुन सकेनन् । सोही कारण राष्ट्रकवि कै निवासमा एल्बम सार्वजनिक तथा अभिनन्दन पछि रसियन साँस्कृतिक केन्द्रमा एल्बम सार्वजनिक तथा अभिनन्दन गरिएको थियो ।

एल्बम सार्वजनिक कार्यक्रममा हास्य सम्रागी बसुन्धरा भुसाल र वरिष्ठ गायिका ज्ञानु राणलाई पनि अभिनन्दन गरिएको थियो । त्यस्तै युथ क्रिएशन म्युजिक प्रा.लि बाट डा. डीआर उपाध्यायलाई म्युजिक क्रिएशनका अध्यक्ष रमेश थापा र सल्लाहकार कृष्ण भुसालले दोसल्ला र ताम्रपत्रले सम्मान गरेका थिए ।

डा. डीआर उपाध्यायका यसअघि ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ गरी ११ एल्बम सार्वजनिक भएका थिए । यसैगरी उनका हालसम्म ‘वज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘विटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’ र ‘सपनाकी रानी’ प्रकाशित छन् ।
सङ्गीतकार सन्तोष श्रेष्ठले स्वागत भाषण तथा कार्यक्रम माथि प्रकाश पारेका थिए भने साहित्यकार सञ्चारकर्मी अच्युत घिमिरेले डा. डीआर उपाध्ययाका उपन्यासका बारेमा बोलेका थिए ।

गीत लेखेर एक पछि अर्को कीर्तिमान कायम गरेका डा. डीआर उपाध्यायले आज सार्वजनिक गीत मार्फत पनि आठ वल्र्ड रेकर्ड कायम भएका छन् । सार्वजनिक कार्यक्रममा एभरेष्ट वल्र्ड रेकर्डका फाउण्डर निर्देशक मधुरा श्रेष्ठले डा. डीआर उपाध्यायलाई आठ वटा वल्र्ड रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

आज कायम भएका वल्र्ड रेकर्डमा २४ फरक गीत १२ मेजर १२ माइनर स्केलमा एउटै एल्बममा, पाँच फरक सङ्गीतकारले सङ्गीत गरेको एउटा गीत, अधिकांस हिन्दू देवी देवताको नाम राखेर बनाइएको गीत, एउटा एल्बममा सबै गीत सेभेन्थ कड्स, सबैलाई स्वस्थ राखौ भन्ने योग सम्बन्धी गीत, महिला प्रताडना समन्धि गीत जसमा ७१ वर्ष र ५ वर्षकी गायिकाको स्वर, अत्यधिक हिमाललाई समेटेर पर्यटन वर्ष २०२० लाई लक्षित गीत र १६ महिनामाा १८ एल्बम सार्वजनिक रहेका छन् । यसअघि डा. डीआर उपाध्यायले ६ वल्र्ड रकेड राखेका थिए भने उनको जम्मा वल्र्ड रेकर्डको संख्या १४ पुगेको छ ।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले डा. डीआर उपाध्यायले नेपाली गीत सङ्गीतलाई विश्वमा चिनाउने काम गरेको बताए । उनको कार्य सह्रानिय रहेको भन्दै यस्तो कार्य गर्न उनमा अझ जोश जागर बढेर जाओस् र अन्य कीर्तिमान कायम होस् भने ।

सो अवसरमा गायक गायिकाहरु सागर अधिकारी ‘शरद’, नरहरि प्रेमी, योगेश काजी, राज सगर, मनोज राज र सारिका घिमरेले एल्बममा रहेका गीत प्रस्तुत गरेका थिए । समारोहमा मधुरा श्रेष्ठ, सन्तोष श्रेष्ठ, सागर अधिकारी, अच्युति घिमिरे, कृष्ण भुसाल, नरहरि प्रेमी, योगेश काजी, मनोज राज, राज सागर, गीता अधिकारी, सारिका घिमिरे, रमेश थापा, सभाष प्रधान, नरेश भट्टराईलगायतलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

गीत लेखेर एक पछि अर्को कीर्तिमान कायम गरेका डा. डीआर उपाध्यायले वल्र्ड बुक्स अर्फ अमेरिका, अष्ट्रेलिया, लण्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । उपाध्यायले मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रकेर्ड, जीनस वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रकेर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।