आठ दर्जन सिनेमा हलबाट एकसाथ घामड शेरे


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ कात्तिक

हेमराज बिसी निर्देशित ‘घामड शेरे’ शुक्रबारदेखि मुलुकका करिब ८ दर्जन सिनेमा हलबाट रिलिज भएको छ । सिनेमाले हलमा दर्शकको राम्रो साथ पाएको यसका निर्देशक हेमराज बिसीले बताएका छन् ।
हेमराज बिसीको लेखन, निर्देशन र कथामा निर्माण भएका यस चलचित्रमा एक घामड युवकको जीवनमा आइपर्ने उतारचढाव प्रस्तुत गर्न खोजिएको निर्देशक बिसीले बताए । जसमा अभिनेता निश्चल बस्नेत केन्द्रिय भूमिका घामड शेरेका रुपमा छन् ।

यो सिनेमामा निश्चल बस्नेतसँगै स्वस्तिमा खड्का, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको मुख्य अभिनय छ । गौरी मल्ल विशेष भूमिकामा छिन् ।
घामड शेरेमा कालीप्रसाद बाँस्कोटाको संगीत, नरेन्द्र मैनालीको छायाँकन, सुरेन्द्र पौडेलको सम्पादन, नरेन्द्रविक्रम बुढा क्षत्रीको कार्यकारी निर्माण र हेमराज बिसी, सिमोश सुनुवारको निर्माण छ । आफ्नो फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको निर्देशक बिसीले जानकारी गराएका छन् ।

यसैबीच घामड शेरेको सामाजिक संजालमा बनेका ट्रोलप्रति पनि निर्देशक बिसी र यसका अभिनेता निश्चल बस्नेतले आपत्ति जनाएका छन् । उनीहरुले सिनेमाको नाम जोडेर बनेका चर्चित राजनीतिज्ञको ट्रोललाई लिएर ध्यानकर्षण भएको बताएका छन् ।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई असर पर्ने गरी देउवाको फोटो जोडेर घामड शेरेलाई प्रयोग गरेपछि यो प्रवृतिप्रति नेपाली काँग्रेस रुष्ट छ । सोही कारण घामड शेरेका निर्माणपक्षले यो विषयमा आफुहरुको सम्लग्नता नरहेको जनाएको छ ।