च च हुईपछि पुषमा सुस्केरा ल्याउँदै सम्तेन


ब्युटी न्युज नेपाल
काठमाडौं, २० कात्तिक

निर्देशक साम्तेन भुटियाको निर्देशनमा तयार भएको फिल्म ’सुस्केरा’ आउँदो पौष १८ मा रिलिज हुने भएको छ । उनी अहिले अर्को नयाँ चलचित्र ‘च च हुई’ को आउँदो मङ्सिर ६ मा रिलिज गर्ने तयारीमा छन् ।
फिल्ममा सुरक्षा पन्त र स्वरूप पुरुष ढकालको मुख्य भूमिका रहेका छ । सुरक्षालाई नायिकाको रुपमा ब्रेक दिएको फिल्म मात्र होइन , गायक रुपमा चिनिदै गरेका स्वरूपलाई ठुलो पर्दा नायक बनाउने श्रेय पनि यसै फिल्मलाई जान्छ ।

यसअघि ‘लेटर’ बाट निर्देशनमा होमिएका साम्तेनले यसको छायाँकन तिन वर्ष अगाडी नै सकाएका थिए । प्राविधिक कारणले रिलिजमा ढिलाई भएतापनि यसले फिल्मको विषयवस्तुलाई असर नगर्ने निर्माण पक्षले बताएका छन् ।

एसपी ढकाल र सिके ढकालको निर्माणमा बनेको यस फिल्मका लेखक पनि साम्तेन नै हुन् । यसमा मिथिला शर्मा, शिशिर बाङ्देल, सिद्धार्थ उपाध्यायको पनि अभिनय रहेकोछ ।‘सुस्केरा’ पूर्णत प्रेमकथामा आधारित फिल्म रहेको निर्देशक भुटियाले बताएका छन् ।

‘लभ भन्नेबितिकै जुन सोचाइ हाम्रो छ, त्यसभन्दा केही फरक गर्ने प्रयास फिल्ममा गरिएको छ’ निर्देशक साम्तेनले भने । थपे, ‘प्रेम प्राप्तिमा आउने भोगाइ नै फिल्मको कथा हो ।’ छक्का पञ्जा २ मार्फत पर्दामा झुल्किसकेका स्वरूपले सुस्केरा गर्नु अगाडी हिन्दी सिरियल ’गुमराह’ मा समेत काम गरिसकेका थिए । उनले फिल्म खेल्न आएको प्रस्तावलाई नकार्न नसकेर अभिनयमा आएको बताए ।

‘मुम्बईमा बसेर सिकेको अभिनय र हिन्दी सिरियल ‘गुमराह’ मा अभिनय गर्दा पाएको अनुभवले नै मलाई यस फिल्ममा अभिनेता बन्न उत्साहित भएको हुँ’ स्वरूपले भने ।

केहि प्राविधिक कारणले रोकिएको फिल्म सोमबार वितरण सम्झौता भएसँगै पौष १८ बाट दर्शकमाझ आउने पक्का भएको हो । फिल्मलाई काठमाडौंमा करण क्रेजी श्रेष्ठको रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।