बलिउड अभिनेता गोविन्दा काठमाडौंमा


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ कात्तिक

बिहिबारबाट वीरगञ्जमा सुरु हुने नेपाली चलचित्र स्वर्णिम महोत्सब २०७६ को विशेष आतिथ्यता ग्रहणका लागि बलिउड अभिनेता गोविन्दा यतीबेला काठमाडौंमा छन् । उनी आफ्नी श्रीमती सहित मँगलबार काठमाडौं आईपुगेका हुन् ।

गोविन्दासँगै अभिनेत्री निरुता सिंह पनि काठमाडौं आएका छिन् । गोविन्दा र निरुता मँगलबार दिउँसो सँगै मुम्बईबाट काठमाडौं आएका हुन् । राष्ट्रपति विद्यादेबी भण्डारीले महोत्सबको उद्घाटन गर्ने छिन् । जसमा गोविन्दा विशेष अतिथि रहेका छन् ।

महोत्सब आयोजक एवम् नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले गोविन्दा र निरुतालाई त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा स्वागत गरे । गोविन्दा अहिले काठमाडौंका याक एन्ड यती होटलमा बसेका छन् । अभिनेता गोविन्दाले बुधबार आफन्तसँग भेटघाट गर्नेछन् ।

गोविन्दाको ससुराली भक्तपुर हो । सोही कारण पत्नीसँगै उनी आफन्तसँगको भेटघाटमा व्यस्त रहने छन् । उनी बिहिबार महोत्सबमा सहभागी हुन बीरगञ्ज जाने छन् । महोत्सबमा सहभागी भएर उनी शुक्रबार काठमाडौं फर्कने छन र शुक्रबार नै उनी मुम्बई जाने कार्यक्रम रहेको छ ।

वीरगञ्जमा बिहिबारबाट सुरु हुने तीन दिने चलचित्र महोत्सबको शनिबार २३ कात्तिकसम्म चल्ने छ । नेपाली चलचित्र उधोगले पाँच दशकको यात्रा पुरा गरेको अबसरमा आफुहरुले नेपाली चलचित्रको विकासको लागि यसपटक वीरगञ्जमा महोत्सब गरेको पनि अधिकारीले जानकारी गराए । महोत्सबमा हरेक साँझ विविध सांस्कृतिक सहित दैनिक विभिन्न कार्यक्रम रहेको पनि अध्यक्ष अधिकारीले बताएका छन् ।