ब्युटी न्युज नेपाल
वीरगन्ज, १८ कात्तिक

वीरगन्जमा २१ कात्तिकबाट २३ कात्तिकसम्म नेपाली चलचित्र स्वर्णीम महोत्सव २०७६ हुने भएको छ । वीरगन्जको आदर्शनगर रंगशालामा नेपाली चलचित्र स्वर्णीम महोत्सव २०७६ हुने महोत्सब आयोजक संस्था नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी गराएका छन् । नेपाली चलचित्र निर्माणको ५० औं बर्ष पूरा भएको अवसरमा यो महोत्सब गर्न लागेको उनले बताए ।

‘तराई, पहाड र हिमालको उत्सवका रुपमा मुलुकको आर्थिक नगरी एवं प्रवेशद्वारका रुपमा रहेको वीरगन्जमा यस्तो स्वर्णीम चलचित्र महोत्सव आयोजना गरिएको हो ।’ अधिकारीले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने नेपाली चलचित्र स्वर्णीम महोत्सव २०७६ को सबै तयारी पूरा भइसकेको आयोजकले आइतबार यता वीरगन्जमा पत्रकार सम्मेलन गरी बताएको छ ।

महोत्सब मूल आयोजक समितिका संयोजक विमल पौडेलले तयारीपुरा भएको बताए,‘प्रदेश २ मा रहेका स्थानीय कलाकारलाई नेपाली चलचित्र उद्योगको मूलधारमा ल्याउने, आन्तरिक पर्यटक प्रबद्र्धन गर्ने उद्देश्य आयोजकको रहेको छ ।’ नेपाली चलचित्र निर्माता संघका उपाध्यक्ष समेत रहेका संयोजक पौडेलले भने । ‘तराई पहाड हिमालको उत्सव’ भन्ने नाराका साथ गर्न लागिएको महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने उनले बताए ।

यो चलचित्र महोत्सवमा भारतका पनि चर्चित अभिनेता गोविन्दा आउने निश्चित भएको र यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा कमाउने पनि संयोजक पौडलेको पत्रकार भेटघाटमा बताए ।

१ करोड २० लाख खर्च लाग्ने अनुमान गरिएको महोत्सवमा प्रदेश २ सरकारले १० लाख, वीरगञ्ज महानगरपालिकाले १५ लाख रुपैयाँ र प्रादेशिक पर्यटन प्रवर्द्धन समितिले समेत आर्थिक सहयोग गर्ने आयोजक तयारी समिति संयोजक पौडेलले बताए ।

पत्रकार सम्मेलनमा सहभागी वीरगन्ज महानगरपालिकाको नगरप्रमुख विजय कुमार सरावगीले चलचित्र महोत्सवको सफलताले यस क्षेत्रको भाषा, कला, संस्कृति एवं कलाकारहरुलाई समेत अवसर हुने भएकोले यो महोत्सव सफल पार्न यस क्षेत्रका सबैको योगदान हुनु पर्ने बताए । उनले वीरगन्ज महानगरपालिकाले यो महोत्सवलाई सफल पार्न १० लाखको चेक दिई सकेको र नगरपालिकाले छुट्याएको बाँकी ५ लाख पनि केही दिनमा महोत्सव समितिलाई दिने जानकारी दिए ।

नेपाली चलचित्रलाई समयानुकुल, मौलिक एवं देश काल परिस्थिति अनुसारको कथा तयार गरी निर्माण गर्न महोत्सव फलदायी हुने महोत्सवको स्थानीय संयोजक नन्दु श्रीवास्तवले पनि बताए ।

महोत्सव आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघ र वीरगञ्ज उद्योग वाणिज्य संघको साझेदारी र सहयोग रहेको उद्योग बाणिज्य संघ वीरगन्जका बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ताले बताए ।