ब्युटी न्युज नेपाल
काठमाडौं, १६ कात्तिक

तिहारको अबसर पारेर ८ कात्तिकबाट रिलिज गरिएको चलचित्र ‘पोई पर्यो काले’ ले दोश्रो सातामा पिकअप लिईरहेको यसको निर्माण पक्षले बताएको छ । पहिलो सातामा हाउसफुल ४ र ६ मायाँ छपक्कैको दवाब खेप्नु परेको यो चलचित्रलाई प्रदर्शनीको दोश्रो सातामा दर्शकले अझ मायाँ गरेको निर्माताहरुको भनाई छ ।

यो चलचित्रले मल्टीप्लेक्स र सिंगल दुवै स्क्रिनमा चलचित्रले दर्शकको साथ पाई रहेको र हेर्ने जति दर्शकले चलचित्रबाट मनोरन्जन पाई रहेको प्रतिक्रिया दिएको निर्देशक शिशिर राणाले दाबी गरेका छन् ।

दोश्रो साताको शनिबार यो चलचित्रले गोपीकृष्ण, अस्ट नारायण र गुण सिनेमामा हाउसफुल व्यापार गरेको पनि निर्देशक राणाले बताए । दोश्रो सातामा प्रवेश गरेको चलचित्रले चाँडै लगानी सुरक्षित गर्ने दाबी यो फिल्मका निर्माता किरण नेपालीले गरेका छन् ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेललगायतको मुख्य भूमिका छ । सेन्सर बोर्डबाट युनिभर्सल प्रमाणपत्र पाएको चलचित्रले मानिसको बाहिरी रुप हेरेर राम्रो नराम्रो भनिने गलत सोच राख्नु हुँदैन भन्ने सन्देश बोकेको छ । मानिसको रुप भन्दा पनि मन सफा र गोरो हुनुपर्ने बिषयलाई उठाउन खोजेको चलचित्रमा निर्देशक शिशिर राणाकै कथा रहेको छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन रहेको चलचित्रमा अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी रहेको छ ।