७ दर्जन हलबाट आयो बादशाह जुट


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ कात्तिक

चलचित्र ‘बादशाह जुट’ आज शुक्रबारबाट देशव्यापी रुपमा रिलिज भएको छ । यो वर्षको छैठ पर्वलाई लक्षित गरेर यो फिल्म रिलिज गरिएको हो ।

आफूलाई बादशाह ठान्ने दुई युवाले गरेको संघर्षको कथा यसमा छ । मुलुकका ७ दर्जनभन्दा बढी सिनेमा हलमा रिलिज हुने यसका निर्माता भोजराज श्रेष्ठले बताएका छन् ।

बादशाह जुटमा नायकमा सुशील श्रेष्ठ छन् । फिल्म कारखाना रिलिज भएको तीन वर्षपछि उनी यो फिल्ममार्फत दर्शकमाझ आउन लागेको हुन् । सुशीलसँगै आमिर गौतम यसको केन्द्रीय हिरोको रूपमा छन् ।

यो चलचित्रमा सुशील र आमिरसँगै केइसा रावत, रोषी खड्का, रोविन तामाङ, रश्मि पाण्डे, दीपक क्षत्री, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ । भने, प्रियंका कार्कीलाई अतिथि कलाकारमा समेटिएको छ ।

आफूलाई बादशाह ठान्ने दुई युवक सुशील र आमिरको वरिपरि फिल्मको कथा घुम्ने पनि निर्देशक राणाले बताएका छन् । यसले प्रहरी र पत्रकारको काम रोचकसँगै जोखिम रहेको देखाउने पनि उनले बताए ।

आफूले तयार गरेको फिल्ममा एउटा सिकारु पत्रकार र अर्को प्रहरीले एउटा मिसनलाई सफल पार्न गरेको संघर्षको कथा समेटिएको यसका निर्देशक जोनी सिंह राणाले जानकारी गराएका छन् । नेपालमा समेत बाह्य आतंकवादीहरूको हस्तक्षेप बढ्दै गएको कथा यो फिल्ममा उठाइएको छ । सिनेमा एक्सन, कमेडी जनरामा निर्माण भएको छ ।

हर्कबहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले लगानी गरेको सिनेमा एच एन्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एन्ड इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

बादशाह जुटमा अभिषेक शशि कुमारले लेखेको पटकथामा राजु कार्कीले छायांकन, राजकुमार उप्रेतीले एक्सन, दीर्घ खड्काले सम्पादन र कृष्ण भारद्वाजका साथै कोसिस क्षत्री, मोहित मुनालले संगीत दिएका छन् ।