घामड शेरे सर्दा आधा दर्जन फिल्म प्रभावित


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ कात्तिक

। नेपाली चलचित्र घामड शेरे यस पालीको तिहारको तिहारमा रिलिज नहुँदा त्यो फिल्मले रिलिज अघि नै घाटा सहनु परेको छ । जसका कारण यतीबेला आधा दर्जन फिल्म प्रभावित भएका छन् ।

यो वर्षको तिहारको अबसर पारेर ८ कात्तिकमा रिलिज गर्ने भनिएको चलचित्र ‘घामड शेरे’को रिलिज प्रदर्शनको दुई दिन अघि एक्कासी स्थागित गरियो । जसका कारण आफुहरुको करिब २० लाख रुपैयाँ प्रचार प्रसारमा खर्च भएको र त्यो पैसा घाटा भएको निर्माण पक्षले बताएको छ ।

यो चलचित्र अब २२ कात्तिकमा मात्र रिलिज हुने भएको छ । फिल्मको ८ कात्तिकमा रिलिज गर्ने भनेर टेलिभिजन, रेडियो एमएम, युट्युब च्यानल, अनलाईन मिडियामा करिब १५ लाख रुपैयाँको प्रचार गरिएको थियो । करिब ५ लाख रुपैयाँ खर्च गरेर पोष्टर छापिएको थियो । अब २२ कात्तिकमा रिलिज गर्नु पर्ने भएपछि फेरी त्यत्तिकै खर्च गरेर फिल्मको प्रचार प्रसार पुन गर्नु पर्ने पनि निर्माण पक्षले बताएको छ । यसरी ८ गते फिल्म घामड शेरे रिलिज स्थगीत गर्दा निर्मातालाई प्रचार प्रसारको १५ लाख रुपैयाँ घाटा भएको छ ।

८ कात्तिकमा चलचित्र घामड शेरेलाई मुलुकका सिनेमा हलका पुरा मध्य आधा शोहरु दिने विश्वास यसका अभिनेता निश्चल बस्नेत र निर्माता निर्देशक हेमराज बिसीको थियो । तर भारतीय फिल्म हाउसफुल ४ लाई वितरक र हलवालाले महत्व दिँदै घामड शेरेलाई निकै कम शो सिनेमा हलमा दिएपछि निश्चल र हेमराजले एक्कासी यो फिल्मको रिलिज तिहारमा स्थागित गरेर २२कात्तिकमा रिलिज गर्ने भन्दै नयाँ मिति घोषणा गरेका हुन् ।

फिल्म घामड शेरेले माग गरे अनुसारको हल नपाएपछि फिल्मको रिलिज पूर्व घोषित मितिमा स्थगीत गर्दै अभिनेता निश्चल बस्नेतले तत्कालै फेसबुकमा यस्तो स्टाटस लेखेका छन्, ‘अनुरोध,कृपया मेरो अगाडि चै नेपाली फिल्मको प्रगतीकोलागी हामी काम गरिरहेछौं भन्ने शब्द चै अहिलेका डिस्ट्रिब्युटर , हलवालासाहुहरुले र मसंग राम्रो चिनजान भएका केही चलचित्रकर्मीहरुले म संग नगर्नु होला । हुन सक्क हामी चलचित्रको प्रदर्शनको अघि असफल भएका छौं । उहाँहरुको नजरमा यो फिल्म के रहेछ भन्ने स्पष्ट भयो । अहिले म फिल्मलाई भविष्यमा कसरी रिलिजगर्ने भन्नेबारे गम्भिर भएर सोच्नेथालेको छु ।’

यसरी तीन दीन अघि यस्तो फेसबुक स्टाटस लेखेका निश्चलले शुक्रबार फेरी अर्को फेसबुक स्टाटस लेख्दै आजबाट प्रदर्शन गरिने भनेको हाम्रो फिल्म घामड शेरे अब कात्तिक २२ गते प्रदर्शन हुने जानकारी गराउँन चाहन्छु भनेका छन् ।
नेपाली चलचित्रका अहिलेका सेलिब्रेटी तथा सफल अभिनेता र निर्देशक निश्चल बस्नेतको फिल्मलाई पाखा लगाएर हिन्दी फिल्म हासउफुललाई आबश्यक भन्दा बढी शोहरु हलवालाहरुले दिएका छन् । यही कारण निश्चलले आफुहरु वितरक र हलवालाहरुबाट हेपिएको महसुस गर्दै फेसबुक मार्फत आक्रोस पोखेका हुन् ।

चलचित्र घामड शेरेको प्रदर्शन एक्कासी २२ कात्तिकमा सार्दा सो मितिमा रिलिज गर्ने भन्दै प्रचार प्रसारमा व्यस्त हरि हुमागाई निर्दे्शित चलचित्र ‘सरौंतो’ एक हप्ता पछि २९ कात्तिकमा सर्नु परेको छ । आफुहरुलाई फिल्मका वितरकले २९ कात्तिकमा सर्नु भनेपछि एकहप्ता पछि सारिएको निर्देशक हरि हुमागाईले बताएका छन् । जसका कारण यो फिल्मको पनि कात्तिक २२ रिलिजको लागि प्रचार प्रसारमा खर्च गरिएको करिब ८ लाख रुपैयाँ डुबेको छ ।

अब २२ कात्तिकमा निश्चल बस्नेतको फिल्म घामड शेरे शेर बनेर आउने भएपछि यो दिन रिलिज हुने भनिएको अर्को नेपाली चलचित्र ‘लभ यु हमेशा’ को प्रदर्शन त्यो मितिमा नहुने निश्चित जस्तै छ । अब यो फिल्म कहिले रिलिज गर्ने भनेर निर्माता निर्देशकहरु नयाँ मितिको खोजीमा छन् । कात्तिक २२ मै रिलिज हुने नेपाली चलचित्र जीवन फुलकी काँडालाई पनि घामड शेरे आउँदा प्रभाव पर्ने भएको छ ।

अब सरौतो फिल्म कात्तिक २९ मा सरेपछि कात्तिक २९ मै रिलिज हुने दुई नेपाली चलचित्र माछो माछो र मिस्टर नेपाली पनि प्रभावित भएका छन् । यसरी एउटा चलचित्र दुई साता पछि सर्दा आधा दर्जन चलचित्रको प्रदर्शनमा असर परेको छ