गोरखा मिरकोटका महिलाहरुले तिहारमा बेचे लाखौंको फुल


ब्युटी न्युज नेपाल
गोरखा (मिरकोट)

यो वर्षको हिन्दुहरुको सांस्कृतिक पर्व तिहारको रमझमले अहिले मुलुक हर्सोल्लास छ । तिहार रँग, प्रकाशसँगै फुलको पनि पर्व हो । यसै क्रममा अहिले जताततै देउसी खेल्नेसँगै यसपत्री र मखमली फुल टिप्ने चटारो छ ।

गोरखा स्थित पालुङटार नगरपालिका १० मिरकोट (भारतीबेसी)मा पनि यतीबेला सयपत्री फुलको बिक्री वितरणको चटारो छ । भारतीबेसीमा सञ्चालित ‘श्री नवज्योती महिला समुह, मिरकोट’का महिलाहरुले १५ रोपनीभन्दा बढी खेती गर्न छाडिएको बाँझो बारीमा सयपत्री फुल खेती गरेका छन् ।

यस अघि तिहारमा माला लगाउन गोरखामा चितवन लगायत भारतबाट सयपत्री फुल ल्याउने गरिन्थ्यो । त्यो समस्यालाई गाउँ स्तरबाटै समाधान गर्न आफुहरुले गतवर्षबाट महिला समुहमार्फत सयपत्री फुल खेती सुरु गरेको सो समुहकी अध्यक्ष सरस्वती भारतीले व्युटी न्युज नेपाललाई जानकारी गराईन् ।

अध्यक्ष भारतीका अनुसार बैंकबाट केही रकम ऋण लिएर र केही रकम आफुहरुले समुहमा जम्मा गरेको रकमबाट यो खेती गरिएको हो । यसपटक तिहारकै समयमा फुल राम्ररी फुलेको र मिरकोट, छेपेटार, १२ किलो, आँबुखैरेनी हुँदै गोरखा सदरमुकामसम्म आफुहरुले त्यहाँको सयपत्री फुल पठाउने गरेको पनि अध्यक्ष सरस्वती भारतीले जानकारी गराईन् । यसपटक फुलको आम्दानी राम्रो भएको पनि उनले बताईन् । यसरी महिला समुहको यो खेती उपार्जन कार्यबाट प्राप्त रकमबाट स्थानीय महिलाहरुलाई ऋण सहयोग गर्नसमेत आफुहरु सक्षम भएको पनि उनले जानकारी गराईन् ।

फुल खेतीले उत्साहित भएका समुहका सदस्यहरु राधिका श्रेष्ठ, कमला भारती, जौमायाँ परियार, बिमला बिक लगायतले आर्को वर्ष यो सामुहिक फुल खेतीलाई अझ बृहत बनाउने बताएका छन् ।