ब्युटी न्युज नेपाल
काठमाडौं, ८ कात्तिक

र्यापर भिटेन (समिर घिसिङ) तिहार भरीका लागि प्रहरी हिरासतबाट रिहा भएका छन् । ‘हामी यस्तै त हो नि ब्रो…’ बोलको गीतमा प्रयोग भएका शब्द र सामाजिक सञ्जाल फेसबुकमा राखिएको तस्वीरलाई लिएर प्रहरीले उनलाई बिहिबार बिहान पक्राउ गरेको थियो ।

५ कात्तिकमा अर्का गायक दुर्गेस थापालाई पक्राउ गरेर ६ घन्टापछि छाडेको प्रहरीले गायक भिटेनलाई हिरासतमा लिएका ३६ घन्टापछि छाडेको हो । तर गायक भिटेनलाई सँधैका लागि नभएर तिहार भरीको लागि छाडिएको महानगरिया प्रहरी परिसर जाउलाखेल, ललितपुरले जनाएको छ ।

गायक भिटेनले पक्राउ परे लगतै उनले ‘हामी यस्तै त हो नि ब्रो…’ बोलको गीत प्रहरीकै रहोबरमा युट्युव च्यानलबाट हटाएका थिए । उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउने प्रहरीको तयारी थियो । तर बुवाले जमानीमा रिहा गर्न अनुरोध गरेकाले छाडिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुरमा उनलाई यसअघि राखिएको थियो । भिटेन नामले परिचित समिर घिसिङलाई उनका बुवाको जमानीमा रिहा गरेको हो । शुक्रबार साँझ रिहा भएका उनलाई भाइटीकाको भोलिपल्ट हाजिर हुन भनिएको ललितपुर प्रहरीले जनाएको छ । प्रहरीले त्यसपछि बाँकी कारवाही अघि बढाउने पनि जानकारी गराएको छ ।