र्यापर गायक भि टेन पक्राउ


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ कात्तिक

गायक भि टेन पक्राउ परेका छन । भि टेनको नामले परिचित र्यापर समीर घिसिङलाई प्रहरीले बिहिबार बिहान ललितपुरको जाउलाखेलबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो ।

गीतमा धुमपान, मद्यपान, लागू औधषको प्रोत्साहन र तिहार जस्तो धार्मिक सांस्कृतिक पर्वको अपहेलना गरेको भन्दै गायक दुर्गेसलाई पक्राउ परेको तेश्रो दिनमा भिटेन पक्राउ परेका हुन् । महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंमा राखेर उनमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी गराएका छन् ।

यस्तै त हो नि ब्रो…भन्ने गीतमा भिटेनले पुलिस चौकी भित्र गर्छु दारु खाँदै मस्ती, कारोडौंको लोन दिएँ साहरुख खानलाई अस्ती… भन्ने शब्दको प्रयोग गरेर गीत मार्फत नेपाल प्रहरीको अपहेलना गरेको प्रहरीले जनाएको छ ।

यतीमात्र हैन, नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षकको बर्दी लगाएर त्यो बर्दीमा गाँजा जस्ता लागू औषध केलाएर पिउँदै गरेको तस्बिर भि टेनले सामाजिक सञ्जाल फेसबुकमा हालेर प्रहरीको बर्दिको समेत अपहेलना गरेका छन् । यी बाहेक उनले यो गीतबाट सामाजिक मान मर्यादामा आँच पुर्याउने काम समेत गरेको आरोप लाग्दै आएको छ ।

भिटेनको वास्तविक नाम समीर घिसिङ हुन् । ‘गरिबी…, गीतबाट र्याप यात्रा थालेका उनी ‘सिमसिमे पानी…‘ गीतबाट युट्युब ट्रेन्डिङमा छाएका थिए । दर्जन बढी गीत गाइसकेका उनी पछिल्लो समय देशविदेशमा कन्सर्टहरुमा समेत व्यस्त छन् । यस्तै यस्तै गीतका कारण उनलाई पोखरा लगायत विभिन्न ठाउँको कन्सर्टमा दर्शकले ढुँगा समेत हानेका थिए ।

यसै बीच गीतमार्फत गाँजा जस्तो लागू एवम् नसाशु पदार्थ पिउन प्रोत्साहित गरेको भन्दै अर्का गायक लाउरे अर्थात आषिस रानामगरलाई पनि प्रहरीले खोजेको प्रहरी सुत्रले जनाएको छ ।

भि टेन, लाउरे लगायतका विभिन्न गायकलाई सार्वजिनक हित विपरित कार्य गरेका भन्दै जिल्ला प्रशासन कार्यालय काडमाडौैमा उजुरी परेपछि यस्ता गायकहरुलाई जिप्रका काठमाडौंको निर्देशनमा धमाधम पक्राउ गरेर कारवाहीको दायरमा ल्याएको हो ।

गायक भिटेनलाई सामाजिक हित बिरुद्ध मुद्दा चलाउने तयारी भईरहेको पनि अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताएका छन् ।