नेसनल बक्स अफिस म्युजिक भिडियोअवार्ड हङकङमा, तयारी धमाधम


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ कात्तिक

तेश्रो संस्करणको राष्ट्रिय बक्स अफिस म्यूजिक भिडियो अवार्ड २०१९ को तयारी धमाधम भईरहेको छ । गत वर्षको असार मसान्तदेखि यो असार मसान्तसम्म सार्बजनिक भएका राष्ट्रिय गीत, धार्मिक गीत, चलचित्र, लोक दोहोरी, आधुनिक, पप, भाषिक, प्रवास, मोफसलका विभिन्न गीत संगीतहरु यसमा सहभागी हुने आयोजक आरके सुवेदीले ब्युटी न्युज नेपाललाई जानकारी गराएका छन् । राष्ट्रिय बक्स अफिस म्यूजिक भिडियो अवार्डको तयारी तीब्र भइरहेको पनि उनले बताए । यो अवार्ड यही डिसेम्बर अन्तिममा हङकङमा आयोजना हुने भएको छ ।

राष्ट्रिय बक्स अफिस म्यूजिक भिडियो अवार्डको आयोजक संस्था बक्स अफिस इन्टरनेशनल ग्रपले अहिले देश विदेश र मोफसलबाट फारम भर्ने काम धमाधम भइरहेको जानकारी दिएको छ । विगतका वर्षहरुझै यो अवार्डलाई विदेशी भूमिमा भव्य र सभ्य बनाउन आन्तरिक गृहकार्य तीव्र भइरहेको आयोजक संस्थाका अध्यक्ष रामबहादुर सुवेदी (आर.के.) ले बताए ।
झन्डै ४६ वटा विधामा प्रदान गरिने अवार्डको फाइनल अवार्ड प्रदान भने विदेशी भूमिमा हुने अध्यक्ष सुवेदीले बताए । तर, त्यसभन्दा अगाडि भने उत्कष्ट १० र ५ गीत संगीतहरुको नोमिनेसन काठमाडौंमा छुट्टाछुट्टै भव्य कार्यक्रम गरी सार्वजनिक गरिने छ ।

उत्कृष्ट १९ एन्फा मैदानमा मैत्रीपुर्ण फुटबल राखेर सम्मान गरिने छ भने उत्कृष्ट पाँचलाई आर्मी अफिसर क्ल्बमा अवार्ड जसरी नै कार्यक्रम आयोजना गरि नोमिनेसन, मेडल वितरन गरिने उनले जानकारी दिए । विदेशमै बसेर गीत संगीतको प्रवद्र्धन गर्नु निकै कठिन कार्य भएका कारण बक्स अफिस म्यूजिक भिडियो अवार्डमा प्रवास विधाबाट यसको प्रोत्साहन गर्ने कार्य भइरहेको सुवेदीले बताए ।

सुवेदीका अनुसार राष्ट्रिय गीतको पबद्र्धनका लागि राष्ट्रिय बक्स अफिस म्यूजिक भिडियो अवार्डले राष्ट्रिय गीतलाई पहिलो नम्बरमा राख्दै अवार्ड प्रदान गर्ने भएको छ । त्यस्तै धार्मिक क्षेत्रलाई समेटेर निर्माण गरिएका गीतको प्रवद्र्धनका लागि पनि यो अवार्डले विशेष रुपमा अवार्ड प्रदान गर्ने भएको छ । नेपाल धार्मिक सहिष्णुता रहेको मूलुक भएकै कारण यहाँ धार्मिक पर्यटन प्रवद्र्धनको सम्भावना बलियो देखिन्छ । गीत मार्फत यस्तो काम हुँदै गइरहेको सन्दर्भमा उनीहरुको सही मूल्यांकन भने भएको पाइँदैन । अब भने राष्ट्रिय बक्स अफिस म्यूजिक भिडियो अवार्डले यो अवार्डबाट उक्त विधा समेट्दै यस क्षेत्रमा लागेका कलाकारको उचित सम्मान गर्ने पनि सुवेदीले बताए ।

त्यसैगरी मुलुक संघीयतामा गइरहेको बेला यसलाई पनि अवार्डले विशेष रुपमा समेट्न मोफसलका गीतहरुलाई पनि अवार्डमा समेटिँदै छ । यही अवस्थालाई मध्यनजर गर्दैैै राष्ट्रिय बक्स अफिस म्यूजिक भिडियो अवार्डले मोफसल विधा नै समेटेर ३२ वटा विधामा अवार्ड प्रदान गर्ने आयोजक आरके सुवेदीले जानकारी गराएका छन् ।

उत्थानका लागि विभिन्न भाषा–भाषी तथा जात–जाति केन्द्रित गीत संगीतहरुको सिर्जना पनि हुने गरेको छ । तसर्थ जातीय तथा भाषा–भाषिका गीत सर्जकहरुका लागि पनि यो अवार्ड ऐतिहासिक हुने अपेक्षा आयोजकको छ ।

त्यस्तै अवार्ड प्रदान गरिने अर्को क्षेत्र तीजका गीत संगीत पनि अर्को हो । महिलाहरुको महान पर्व तीजमा सयौं गीत संगीत बजारमा आउने गरेका छन् । अवार्ड आयोजकले तीजका गीतलाई पनि विभिन्न विधामा अवार्ड प्रदान गर्ने भएको छ ।
नेपाली चलचित्र, गीत संगीत यस अवार्डको अर्को महत्वपूर्ण सशक्त पाटो हुन् । चलचित्रको मूख्य आकर्षण नै गीत र संगीत भएको हुनाले वर्षभरी निर्माण भइ प्रदर्शनमा आएका गीत संगीतमा यो अवार्डमा समावेश गरिनेछन् ।

त्यसैगरी नेपाली गीत संगीतका क्षेत्रमा पप गीत विधाको पनि छुट्टै महत्व छ । विशेषगरी युवा जमातलाई समेट्ने यो विधानमा पप र ¥याप गीत समिश्रण भएको पाइन्छ । उनीहरुमा उत्साह र उत्प्रेरणा जगाउन राष्ट्रिय बक्स अफिस म्यूजिक भिडियो अवार्डले पप गीत क्षेत्रका विभिन्न विधामा अवार्ड प्रदान गर्ने भएको छ ।

नेपाली गीत संगीत क्षेत्रमा सबैभन्दा ठूलो बर्चस्व भने आधुनिक गीतको रहेको पाइन्छ । आधुनिक गीत सदाबहार गीत हुन् । आधुनिक गीतहरुलाई समेटेर विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ । जसले आधुनिक गीत संगीत क्षेत्रका श्रष्टाको उचित मुल्यांकन हुने आयोजकले अपेक्षा लिएको छ ।

गीत संगीत क्षेत्रको अर्को महत्वपूर्ण र छुटाउनै नहुने पाटो हो– लोक दोहोरी गीत । लोक दोहोरी गीतको बजारमा छुट्टै प्रभुत्व छ । लोक दोहोरी गीतका श्रष्टाहरुको विशेष सम्मानका लागि पनि आयोजकले लाक दोहोरी गीतका विभिन्न विधामा अवार्ड प्रदान गर्ने भएको छ ।

यसैबीच अवार्डको लोगो पनि सार्वजनिक गरिएको सुवेदीले बताएका छन् । नेपाल राष्ट्र बैंकका बरिष्ठ नोट डिजाइनर सुन्दर श्रेष्ठले नेशनल बक्स अफिस म्यूजिक भिडियको अवार्डको लोगो तथा अवार्डको ट्रफी निर्माण गरेका छन् । उक्त लोगोले सांगीतिक क्षेत्रका हरेक क्षेत्रलाई समेटेको छ भने लोगोबाटै राष्ट्रियता झल्किन्छ ।