सक्किगोनि बिरुद्दको मुद्दामा कलाकारले प्रहरीमा पेश गरे प्रमाण


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ कात्तिक

हास्य टेली सृँखला भद्रगोलका निर्माता सोम धितालले अहिले चर्चामा रहेको अर्को हास्य सृँखला सक्किगोनि’का कलाकारबिरुद्द मुद्दा हालेका छन् । यो मुद्दाको अहिले विभिन्न कलाकारहरुले सामाजिक सञ्जाल मार्फत बिरोध गरेका छन् । ‘भद्रगोल’ सिरियलमा प्रयोग हुँदै गरेको विभिन्न पात्रलाइ अर्को हास्यब्याँग्य टेली सिरियल ‘सक्किगोनि’ मा प्रयोग गरेकोमा आपत्ति जनाउदै मिडिया हबका तर्फबाट सोमप्रसाद धितालले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी हालेका हुन् ।

हाँस्य टेली सिरियल भद्रगोललाइ असर गरेको भन्दै मिडिया हबले सक्किगोनि निर्माण कम्पनी ‘जेपिटी क्रियसन’का जिग्री, पाँडे, बले सहित सबै चरित्रलाई प्रमुख विपक्षी बनाएर उजुरी हालेको हो ।

मिडिया हबले नेपाल टेलिभिजन र कि एड्भरटाइजिङलाई पनि विपक्षी वनाएको हो । यस विषयमा छलफल गर्न प्रहरीले अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको समूहलाई बोलाएको थियो ।

प्रहरीमा पुगेर जेपिटी क्रियसनका अर्जुन घिमिरे पाँडे र कुमार कट्टेललगायतले भद्रगोल निर्माण गर्दा भद्रगोलमा प्रयोग भएका सम्पूर्ण चरित्रहरुको अधिकार दोश्रो पक्ष अर्थात कलाकारमा निहित रहेको सम्झौता पत्र प्रहरीलाई देखाएका छन् । सो सम्झौतामा मिडिया हब प्रथम पक्ष र कलाकार दोश्रो पक्ष भन्ने उल्लेख छ । यो प्रमाण सक्किगोनी टिमले प्रस्तुत गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको छैन ।

यसैबीच सक्किगो नी टिमले जेपिटी क्रियसनले निर्माण गरेको सक्किगोनिका कलाकारहरुको चरित्रको प्रतिलिपि अधिकार पनि नेपाल प्रतिलिपि अधिकारको रजिस्टारको कार्यालयमा पुगेर सोमबार दर्ता गराएको छ । सक्किगोनि’ र यसमा अभिनय गरिरहेका कलाकारहरुको प्रतिलिपी अधिकार पनि सक्किगोनि’ टीमले जेपिटी क्रियसनको अधिकारको मातहतमा सोमबार नेपाल प्रतिलिपि अधिकारको रजिस्टारको कार्यालयमा दर्ता गराएपछि अब मिडिया हबले उनीहरु बिरुद्ध कुन कानून प्रयोग गरेर मुद्दा अगाडी बढाउँछ । दर्शकबृन्द यो प्रतिक्षाको बिषय बनेको छ ।

प्रतिलिप अधिकार सम्बन्धि ऐनले कलाकार तथा सर्जकलाई प्रथम पक्ष मान्दै उसको बौद्दिक सम्पत्तिलाई अरुले सँधैका लागि किन्न नसक्ने जनाएको छ । प्रतिलिपि अधिकारको यो विश्व्यापी मान्यता हो ।

पाडे, जिग्री, कक्रोज, काकु, खुपीका बा जस्ता पात्रहरुको पहिलो अधिकार सम्बन्धित कलाकारमै निहित हुने श्रष्टाको बौद्दिक सम्पत्ति सम्बन्धि कानूनमा उल्लख छ । तर यहाँ मिडिया हबले उनीहरुको बौद्दिक सम्पत्तिलाई सँधैैको लागि किनेको जस्तै गरेर उनीहरुले यी पात्रको अभिनय गर्न नपाउने भन्दै यी कलाकारहरुबिरुद्द कारवाहीको लागि प्रहरीमो उजुरी दिएको हो । सो उजुरी बिरुद्ध अहिले दर्शकले सामाजिक सञ्जालमा मिडिया अबको व्यापक टिप्पणी गरेका छन् । सक्किगोनीका कलाकारदेखि अन्य कलाकारले पनि यो उजुरी बिरुद्द सामाजिक सञ्जाल मार्फत आक्रोस पोखेका छन् ।

सक्किगोनिका मुख्य निर्माता निर्देशक अर्जुन घिमिरे पाडेले मिडिया हबले हालेको उजुरी बिरुद्ध दुःख व्यक्त गरेका छन् । यसै बिषयमा उनले सामाजिक सञ्जालयमा यस्तो लेखेका छन्,‘यही देशमा बसेर कलाकारिता गर्नु र कलाकार बन्नु नै मेरो गल्ती हो भने उजुरी मात्र किन हात मा हत्कडी नै लगाएर थुनिदिनुस !’ यसरी पाडेले आफुलाई थुन्न समेत मिडिया हबलाई चुनौती दिएका छन् ।

सक्किगोनिका सृँखला निर्देशक दीपक आचार्य काकुले पनि मिडिया हबले आफुहरुलाई हालेको मुद्धाको बिरोध गर्दै फेसबुकमा स्टाटस यसरी लेखेका छन् ,‘ कलाकारिता गर्दा बर्षौ लगाएर बनाएको आफ्नो चरित्रनै आफ्नो नहुने भएपछि अब गाउँ जाने त होला नि । खेतीगर्न जग्गा पो छैन । कसले दिने होला जग्गा ?’ यसरी काकुले श्रष्टाको बौद्धिक सम्पत्तिको कुरा उठाउँदै आफुहरु बिरुद्ध मुद्दा हाल्नेमाथि ब्यँग्य गरेका छन् ।

यही सृँखलामा खुपीका बाको भूमिका निर्वाह गर्दै आएका कमलमणि नेपालले पनि मिडिया हबले आफुहरु बिरुद्ध हालेको मुद्दाप्रति आक्रोस पोखेका छन् । उनले यस्तो आक्रोस फेसबुक मार्फत पोखेका हुन्,‘कुनै शिक्षकले आफ्नो पेशा अनुरुप एउटा स्कुलमा पढाउँदा पढाउँदै पारिश्रमिक नपाएपछि अर्को स्कुलमा पढाउँन जाँदा पहिले पढाउँने स्कुलले तैँले पढाउन पाउदैनस । तँ मैले जन्माएको शिक्षक होस भन्न पाइन्छ ? आफ्नो कर्म गर्न नि कसैको अनुमती चाहिने रे । कलाकारको धर्म कलाकारिता गर्नु हो ।आफुले जन्माएको छोरो त आफ्नो हुन्न । हामीलाई कलाकारिता गर्न रोक लागाउन एउटा मूर्ख मनुवाले प्रहरीमा उजुरी दियो रे । सुन्दा नि अवाक लाग्ने । हामी सुतेका छैनौ । हामीलाई हाम्रो प्रिय दर्शकले बनाउनु भा हो । हाम्रो प्रिय दर्शकको साथ हामीलाई छ ।’ यसरी खुपीका बाले मिडिया हबलाई चुनौती दिँदै आफुहरु नसुतेको बताएका छन् ।

मिडिया हबले आफुहरुको पारिश्रमिक समयमा नदिएको आफुहरुलाई शोषण गरेको भन्दै दीपकराज गिरी, दीपाश्री निरौलाले लामो समयदेखि चर्चित हुँदै आएको आफ्नो टेली सृँखला तितो सत्य केही वर्ष अघि बन्द गरेका थिए । त्यो सृँखला बन्द भएपछि भद्रगोलले अझ माथि उठ्ने अबसर पाएको थियो । तितोसत्यका निर्माता कलाकार दीपकराज गिरीले पनि यतीबेला सक्किगोनिलाई मिडिया हबले मुद्दा हालेको बिषयमा फेसबुकमार्फत बिरोध जनाएका छन् । दीपकराज गिरीले फेसबुक मार्फत यस्तो लेखेका छन्,‘पूर्व भद्रगोल र बर्तमान भद्रगोलबीच जुन भद्रगोल भएको छ । त्यो अत्यन्त दुःखद छ । कलाकारहरु अन्यायमा नपरुन ।’ यसरी दीपकराज गिरीले पनि सक्किगो नी टीमलाई भद्रगोलका साहुले हालेकोे मुद्दाप्रति दुःख व्यक्त गर्दै कलाकार अन्यायमा पर्नु नहुने माग गरेका छन् ।

यस्तै दीपाश्री निरौलाले पनि सक्किगोनिका कलाकारलाई मिडियो हबले मुद्दा हालेको बिरुद्ध दुःख व्यक्त गर्दै फेसबुक मार्फत कलाकारलाई अन्यायमा पार्नु हुन्न है भनेकी छिन् । यसरी अब यो मुद्दा प्रकरणले कुन रुप लिने हो । यस बिषयमा हामी अर्को रिपोर्ट प्रस्तुत गर्नेछौं ।