निश्चल र स्वस्तिमाबीच नै अभिनयमा प्रतिस्पर्धा


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ कात्तिक

अभिनेत्री स्वस्तिमा खड्काले अभिनयको क्रममा श्रीमान एवम् अभिनेता निश्चल बस्नेतसँग पनि आफ्नो प्रतिस्पर्धा हुने गरेको बताएकी छिन् ।

८ कात्तिकबाट रिलिज हुने चलचित्र ‘घामड शेरे’मा अभिनेत्री स्वस्तिमा र अभिनेता निश्चल बस्नेतले मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्ममा आफुहरुबीच अभिनयमा एक प्रकारको प्रतिस्पर्धा भएको स्वस्तिमाले खुलासा गरेकी छिन् ।

यी दुई श्रीमान श्रीमती भए पनि यो चलचित्रमा साली र भिनाजुको भूमिकामा छन् । यो चलचित्रमा निश्चलको श्रीमतीको भूमिकामा सुष्मा निरौला छिन् ।
चलचित्रमा श्रीमतीको भूमिका अर्काले निभाउँदा र बास्तविक श्रीमती भएर पनि आफु श्रीमानको सालीको भूमिकामा हुँदा निकै रमाईलो महसुुस भएको स्वस्तिमाले बताएकी छिन् । आईतबार सञ्चारकर्मीसँगको भेटमा उनले यस्तो अनुभव सुनाएकी हुन् ।

चलचित्रमा आफुहरुबीच कडा प्रतिस्पर्धा भएको अनुभव पनि स्वस्तिमाले सुनाईन्,‘घामड शेरेको सेटमा जब क्यामेरा अन हुन्थ्यो, त्यसपछि निश्चल र म बीच पनि कसले आफ्नो भूमिका अझ राम्रो गर्ने भन्ने प्रतिस्पर्धा हुन्थ्यो । चलचित्रमा काम गर्दा हरेक कलाकारले अरु भन्दा आफ्नो काम राम्रो होस भनेर सक्दो मेहनत गरेको हुन्छ र हामी दुबै जनाले आपसमा मेहनत गरेका छौं ।’

यसरी आफ्नै श्रीमान श्रीमतीबचि त त राम्रो अभिनय कसले गर्ने भन्ने प्रतिस्पर्धा हुन्छ भने अरुसँग प्रतिस्पर्धा हुनु स्वभाविक भएको पनि स्वस्तिमाले बताएकी छिन्,‘घामड शेरेमा निश्चलकी श्रीमतीको भूमिकामा उत्रनु भएकी सुष्मा निरौला थिएटरका कलाकार हुनुहुन्छ । म अभिनय नसिकी चलचित्रमा आएको तर उहाँ अभिनय सिकेर चलचित्रमा आएकाले उहाँले भन्दा राम्रो अभिनय गर्ने कोसिस पक्कै पनि मैले गरें नी । यो पनि त प्रतिस्पर्धा हो ।’ यो क्षेत्रमा सबैको सबैसँग प्रतिस्पर्धा हुने पनि स्वस्तिमाले स्पष्ट पारिन् ।

चलचित्र घामड शेरे ८ कात्तिकबाट मुलुकका सिनेमा हलमा आउँदैछ । यो चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।

घामड शेरेमा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै सुष्मा निरौला, गौरी मल्ल, बादल भट्ट, लोकन्द्र लेखक, सरोज अर्यालसहितका कलाकारको मुख्य भूमिका छ । फिल्मका निर्माता सिमोस सुनुवार, हेमराज बिसी र नरेन्द्र बिक्रम बुढाक्षत्री हुन् ।