मोफसल पुग्यो पोई पर्यो काले युनिट


ब्युटी न्युज नेपाल
काठमाडौं, १ कात्तिक

चलचित्र ‘पोई पर्यो काले’ को युनिट अहिले फिल्म प्रचारको लागि मोफसल यात्रामा छ । यो चलचित्र यही ८ कात्तिकबाट रिलिज हुँदैछ । प्रदर्शन हुन एक हप्ता मात्र बाँकी रहँदा चलचित्र युनिट मोफेसल यात्रामा लागेको हो ।

यसै क्रममा चलचित्र युनिटले चितवनमा प्रेस मिट गरेर चलचित्रबारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री पूजा शर्माले आफुले गरेको अन्य चलचित्र भन्दा ‘पोई पर्यो काले’ फरक फरक किसिमको चलचित्र भएको बताईन् । लभ स्टोरी जनराको चलचित्र गरिरहेको अवस्थामा यो चलचित्रबाट फरक किसिमको चलचित्रमा काम गर्ने अवसर पाएको पूजाले बताईन् । यस्तै पूजाले अन्य नायकहरु भन्दा आकाश श्रेष्ठसँग काम गर्दा केमेस्ट्री राम्रो बनेको बताईन् ।

आकाशसँगको केमेस्ट्री राम्रो भएकै कारण दर्शकहरुले मन पराएको र त्यही कारण बजारमा आकाशसँग प्रेममा रहेको हल्ला चलेको पुजाको भनाई थियो । तर बजारमा चलेको हल्ला जस्तो आफुहरु प्रेममा भने नरहेको पूजाले बताईन् ।

अभिनेता आकाश श्रेष्ठले लभ स्टोरी जनराबाट कमेडी जनराको चलचित्रमा काम गर्दा धेरै चुनौती महसुस गरेको बताए । उनले पहिलो पटक कमेडी जनराको चलचित्रमा काम गर्दा धेरै नै मेहनत गरेको र त्यसको फल पनि राम्रै पाउने विश्वास व्यक्त गरे ।

चलचित्रका निर्देशक शिशिर राणाले आफ्नो फिल्म कमेडी शैलीको सामाजिक कथाबस्तुमा आधारित भएको बताए । उनले चलचित्र कमेडी जनरामा भए पनि यसमा सामाजिक कथा प्रस्तुत गर्न खोजिएको बताए । समाजमा मानिसको बाहिरी रुप मात्र हेरिने गलत प्रवृती माथि चलचित्र निर्माण गरिएको बताउँदै राणाले मानिसको बाहिरी रुप हेरेर राम्रो नराम्रो भनिने गलत सोच राख्नु हुँदैन भन्ने सन्देश चलचित्रले बोकेको जानकारी गराए ।

चलचित्रका निर्माता राजिब गुरुङ उर्फ दिपक मनाङेलाई समाजले डन भने पनि उनी वास्तबिक जीवनमा त्यस्तो नभएको चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले जिकिर गरे । चलचित्रको सुटिङको दौरान पनि कसैले उनलाई डनको रुपमा नलिएको उनले बताए पनि चलचित्रको लगानीबारे खुलाउन चाहेनन् ।

चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् ।
यो चलचित्रमा पूजा र आकाशसँगै सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेलसहितको मुख्य भूमिका छ । तिहारको समयमा चलचित्र हेरेर दर्शकले मनोरञ्जन लिने कुरामा यसको निर्माणपक्ष विश्वस्त देखिएको छ ।

चलचित्रमा शिव ढकालको छायांकन, सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहेको छ ।